कञ्चनपुर। कञ्चनपुरको लालझाडी गाउँपालिका–१ बिनवारीमा हत्या गरिएका पतिपत्नीले बिहिबार बैंकबाट दुई लाख ४३ हजार रुपैयाँ साटेको खुलेको छ।
शुक्रबार बिहान आफ्नै घरमा बीभत्स अवस्थामा पतिपत्नीको शव भेटिएको थियो। उनीहरुको शव पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
४६ वर्षीया रमेश बडायक र उनकी श्रीमती ४३ वर्षीया कमला बडायकको शव रक्ताम्य अवस्थामा भेटिएको हो।
‘हिजो बैंकबाट पैशा साटेका रहेछन्। त्यो पैशा घरमै भेटिएको छ। पैशा लुट्न घटना भएको देखिदैन,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले भने, ‘हामी अनुसन्धान गरिरहेका छौँ।’
घटनास्थलमा प्रहरीले तालिमप्राप्त कुकुर पनि परिचालन गरेको छ। घटनास्थलमा ‘डग स्नेफिङ’ गर्दा ठोस परिणाम नआएको प्रहरीले जनाएको छ।
हतियार फाल्ने सम्भावित ठाउँमा प्रहरीले ‘कम्बिङ अप्रेसन’ गरिरहेको छ। मृतक दम्पतीले बिनवारीमा एक्लै बस्दै आएका थिए। उनले त्यहाँ नास्ता पसल चलाउँथे। त्यहाँ मदिरा बिक्री पनि हुने गरेको थियो।
मृतक दम्पतीका दुई छोरा र एक छोरी छन्। छोराहरु गाउँको अर्को घरमा बस्ने गरेका थिए। रमेशको शव आँगनमा र उनकी श्रीमती कमलाको शव नजिकै बरण्डाको ओछ्यानमा रक्ताम्य अवस्थामा भेटिएको थियो।
उनीहरुको टाउकोमा चोट छ। धारिलो हतियार प्रयोग गरेर हत्या भएको हुनसक्ने आशंका छ।
सम्बन्धित समाचार
- नास्ता पसल चलाउँथे दम्पती, मध्यरात ओछ्यानमै मारिए
- पति–पत्नी मृत भेटिएको घटनास्थलमा तालिमप्राप्त कुकुर
- कञ्चनपुरमा श्रीमान् श्रीमती मृत भेटिए, हत्याको आशंका