पुनर्वासका सुनिल सुनारले जिते गाउँले १० किमि म्याराथनको उपाधि, प्रदीप खत्री दोस्रो

प्रकाशित:

 

किशोर तामाङ, कञ्चनपुर । ११कात्तिक २०८३ कञ्चनपुरको पुनर्वास गरपालिका–७ स्थित बुद्धबस्ती चगाउँमा आयोजित ‘गाउँले १० किमि म्याराथन’ दौड प्रतियोगिताको उपाधि पुनर्वासका सुनिल सुनारले जितेका छन्। उनले निर्धारित १० किलोमिटर दूरी ३० मिनेट २९ सेकेन्डमा पूरा गर्दै उपाधि हात पारेका हुन्।

‘दौडिन्छ गाउँ, बदलिन्छ गाउँ’ भन्ने मूल नाराका साथ गाउँलेका लागि गाउँले संस्थाको आयोजनामा तथा सिद्धार्थ युवा क्लबको समन्वयमा बुधबार प्रतियोगिता सम्पन्न भएको हो। १६औँ रनिङ चाँदी कप फुटबल प्रतियोगिताको अवसर पारेर आयोजना गरिएको म्याराथनमा ४३ जना धावकले प्रतिस्पर्धा गरेका थिए।

पुनर्वास नगरपालिका–११, अमरबस्तीका सुनारले निर्धारित दूरी सबैभन्दा कम समयमा पूरा गर्दै पहिलो स्थान हासिल गरे। कैलालीको घोडाघोडी नगरपालिका–५, देउकुलीका प्रदीप खत्रीले ३० मिनेट ३२ सेकेन्डमा दौड पूरा गर्दै दोस्रो स्थान प्राप्त गरे।

त्यसैगरी, बेलौरी नगरपालिका–३, पढुवाका मिसनदीप चौधरीले ३४ मिनेट १० सेकेन्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरे। बेलौरी नगरपालिका–४, बुटावारीका नवराज भट्ट ३४ मिनेट १५ सेकेन्डमा दौड पूरा गर्दै चौथो भए भने भीमदत्त नगरपालिका–१०, तीनतारा, महेन्द्रनगरका पृथ्वी लवडले ३५ मिनेट १५ सेकेन्डमा दूरी पूरा गर्दै पाँचौँ स्थान हासिल गरे।

म्याराथनको शुभारम्भ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र सिंह कार्कीले रिबन काटेर गरेका थिए। सिद्धार्थ युवा क्लबको खेलमैदाननजिकै रहेको बुद्धचोकबाट सुरु भएको दौड परासन, क गाउँ, लम्साल चोक, खड्डानजिक हुँदै ३२ नम्बरसम्म पुगेको थियो। निर्धारित मार्ग पार गरेका धावकहरू सिद्धार्थ युवा क्लबको खेलमैदानको पश्चिमपट्टि रहेको सिद्धार्थ (शैतान) चोकमा पुगेर दौड पूरा गरेका थिए।

प्रतियोगितामा प्रथम हुने धावकले १५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन्। दोस्रो हुनेलाई १० हजार, तेस्रो हुनेलाई सात हजार, चौथो हुनेलाई पाँच हजार र पाँचौँ हुनेलाई तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनुका साथै विजेतालाई पदक र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

सिद्धार्थ युवा क्लबका खेलाडी तथा ‘गाउँको लागि गाउँले’ संस्थाका स्थानीय संयोजक डेभिड तामाङका अनुसार विजेताहरूलाई १६औँ रनिङ चाँदी कपको फाइनल खेलका अवसरमा आयोजना गरिने औपचारिक कार्यक्रममा पुरस्कार वितरण गरिनेछ।

सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले म्याराथन केवल खेलकुद प्रतियोगितामा सीमित नरहेको बताए। उनका अनुसार समाजमा बढ्दो लागुऔषध दुर्व्यसनविरुद्ध सामूहिक आवाज उठाउँदै युवालाई खेलकुद, अनुशासन र सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।

अध्यक्ष तामाङले गाउँको विकास, युवाको उज्ज्वल भविष्य र समाजको सकारात्मक रूपान्तरणका लागि स्थानीयस्तरबाटै एकता, सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको बताए। म्याराथनले समुदायमा एकताको भावना अभिवृद्धि गर्नुका साथै सामाजिक विकृतिविरुद्ध सामूहिक रूपमा अघि बढ्न प्रेरित गर्ने विश्वास उनले व्यक्त गरे।

आयोजक संस्थाले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने धावक, खेलकुदप्रेमी, समाजसेवी, बुद्धिजीवी, युवा तथा विभिन्न सङ्घसंस्थाप्रति आभार व्यक्त गरेको छ।

‘स्वास्थ्यका लागि दौडौँ, समाजका लागि दौडौँ र हाम्रो गाउँको उज्ज्वल भविष्यका लागि दौडौँ’ भन्ने सन्देशसहित आयोजना गरिएको प्रतियोगिताले पुनर्वास क्षेत्रमा खेलकुदको विकास, युवाको सकारात्मक परिचालन तथा लागुऔषध दुर्व्यसनविरुद्धको सामाजिक अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

Manojbhatt

ताजा समाचार

सम्बन्धित समाचार