दशौँ लालझाडी कप मंसिर ३ देखि, पुरुषतर्फ विजेतालाई ३ लाख र महिलातर्फ ५० हजार

प्रकाशित:

 

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिका–१० मा आगामी मंसिर ३ देखि १३ गतेसम्म दशौँ लालझाडी कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। श्री लालझाडी युवा क्लब–११ को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा महिला खुला फुटबल प्रतियोगिता समावेश गरिने आयोजकले जनाएको छ।

‘लागूऔषधविरुद्धको खोप, खेलाडी उत्पादनमा जोड’ भन्ने मूल नारासहित आयोजना हुन लागेको प्रतियोगिताबारे क्लबले सोमबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। प्रतियोगिताले स्थानीय खेलाडीको प्रतिभा उजागर गर्नुका साथै युवालाई खेलकुदप्रति आकर्षित गर्ने र लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने लक्ष्य लिएको आयोजकले जनाएको छ।

प्रतियोगिताको पुरुषतर्फ विजेता टोलीले तीन लाख रुपैयाँ नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछ भने उपविजेता टोलीले एक लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी पाउनेछ। पुरुषतर्फ उत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

त्यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘म्यान अफ द म्याच’ घोषित गरी दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

यस वर्षदेखि पहिलोपटक महिला खुला फुटबल प्रतियोगितासमेत समावेश गर्न लागिएको क्लबले जनाएको छ। महिला फुटबलतर्फ विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले २५ हजार रुपैयाँ पाउनेछ। महिलातर्फ उत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।

त्यसैगरी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई जनही तीन हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने महिला खेलाडीलाई एक हजार एक सय रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

खेलकुदमार्फत युवालाई सकारात्मक गतिविधिमा जोड्ने लक्ष्य

क्लबका अध्यक्ष काशीराम बोहराले प्रतियोगिताले स्थानीय तथा राष्ट्रियस्तरका खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्रतियोगिताले खेलकुदको विकास र प्रवर्द्धनसँगै युवालाई सकारात्मक गतिविधिमा संलग्न गराउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।

प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न गर्न आवश्यक तयारी भइरहेको आयोजकले जनाएको छ। प्रतियोगिताले पुनर्वास क्षेत्रको खेलकुद विकासमा योगदान पुर्‍याउनुका साथै स्थानीयस्तरमा फुटबलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

अध्यक्ष बोहराका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब २२ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सुदूरपश्चिम खेलकुद परिषद् प्रतियोगिताको मुख्य प्रायोजक रहनेछ भने पुनर्वास नगरपालिका र वडा नम्बर १० ले समेत आर्थिक सहयोग गर्ने जनाइएको छ।

खेलकुद विकासमा जोड दिनुपर्नेमा उपप्रमुख रानाको भनाइ

प्रमुख अतिथिको आसनबाट बोल्नुहुँदै रानाले खेलकुदको विकासका लागि स्थानीय तहले विशेष ध्यान दिनुपर्ने बताउँदै स्थानीय खेलाडीको प्रतिभा पहिचान गरी उनीहरूलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले युवालाई दुर्व्यसनबाट टाढा राख्न खेलकुदले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवामा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्ने बताउनुभयो। साथै, खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि नगरपालिकाले आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

क्लबका अध्यक्ष काशीराम बोहराको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पुनर्वास नगरपालिकाकी उपप्रमुख भुलिया कुमारी रानाको प्रमुख अतिथ्तियमा सुदूरपश्चिम खेलकुद परिषद्का बोर्ड सदस्य नीता कुमारी खत्री, पुनर्वास नगरपालिका–१० का वडाध्यक्ष सुकदेव राना, पुनर्वास नगरपालिका–११ का वडाध्यक्ष तुलसी अर्याल तथा कञ्चनपुर फुटबल संघका उपाध्यक्ष दाउत तामाङ विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।

कार्यक्रममा क्लबका वरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुँवरले स्वागत मन्तव्य राखेका थिए भने सचिव अमित विकले कार्यक्रम सञ्चालन गरेका थिए।

आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलाडी, खेलप्रेमी, स्थानीयवासी, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायलाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार