पुनर्वासका आईबीआरडी र डोके बजारमा ‘हाई मास्क लाइट’, सुरक्षा र सौन्दर्यीकरणमा जोड

प्रकाशित:

पुनर्वास । कञ्चनपुरको पुनर्वास नगरपालिकाले बजार क्षेत्रमा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउन तथा बजारको सौन्दर्यीकरण गर्ने उद्देश्यले आईबीआरडी बजार र डोके बजारमा ‘हाई मास्क लाइट’ जडान गरेको छ।

बजार क्षेत्रमा रातिको समयमा हुने सम्भावित आपराधिक गतिविधि न्यूनीकरण, नागरिकको आवागमनलाई सहज बनाउने तथा बजार क्षेत्रलाई उज्यालो र सुरक्षित बनाउने उद्देश्यले जडान गरिएको हाई मास्क लाइटको नगरप्रमुख तोय प्रसाद शर्माले स्वीच अन गरी औपचारिक उद्घाटन गरेका हुन्। लाइट सञ्चालनमा आएसँगै दुवै बजार क्षेत्र रातिको समयमा थप उज्यालो बनेका छन्।

उद्घाटनका क्रममा नगरप्रमुख शर्माले बजार क्षेत्रमा मानिसको आवागमन बढी हुने भएकाले सम्भावित आपराधिक गतिविधि रोकथाम तथा नागरिकको सुरक्षाका लागि पर्याप्त प्रकाशको व्यवस्था आवश्यक रहेको बताए।

“बजार क्षेत्रमा रातिको समयमा हुने आवागमन र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर स्वचालित व्यवस्थासहित हाई मास्ट लाइट जडान गरिएको हो। यसको विद्युत् महसुल भुक्तानीदेखि आवश्यक व्यवस्थापनसम्मको जिम्मेवारी नगरपालिकाले लिनेछ,” नगरप्रमुख शर्माले भने।

उनका अनुसार नगरपालिकाले आवश्यकता र स्थानीयवासीको मागका आधारमा आगामी दिनमा अन्य प्रमुख बजार, चोक तथा सार्वजनिक स्थानमा समेत यस्ता बत्ती जडान गर्दै जाने योजना बनाएको छ।

“उज्यालो सहर निर्माण गर्ने अभियानअन्तर्गत नगरका विभिन्न सडक, बजार तथा चोकलाई क्रमशः सडक बत्तीले उज्यालो बनाउँदै लैजाने हाम्रो योजना छ। यसले नागरिकको सुरक्षा र बजार क्षेत्रको सौन्दर्यीकरणमा समेत योगदान पुर्‍याउनेछ,” शर्माले बताए।

पुनर्वास नगरपालिकाका योजना शाखा प्रमुख शंकर बोगटीका अनुसार हाई मास्ट लाइट जडानका लागि करिब १५ लाख रुपैयाँ लागत अनुमान गरिएको थियो। ई-बिडिङ प्रक्रियामार्फत करिब ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएपछि लाइट जडान गरिएको उनले जानकारी दिए।

उनका अनुसार तीन पटकसम्म सूचना प्रकाशित गरेपछि मात्रै ई-बिडिङमार्फत काठमाडौंस्थित दीप लाइट इनर्जीले ठेक्का पाएको हो।

“लागत अनुमान करिब १५ लाख रुपैयाँ रहेको योजनामा प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियाबाट करिब ११ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको हो। निर्धारित प्राविधिक मापदण्डअनुसार १२ दशमलव ५ मिटर उचाइको हाई मास्ट लाइट जडान गरिएको छ,” योजना शाखा प्रमुख बोगटीले भने।

आईबीआरडी बजार क्षेत्रमा स्थानीय बजारवासी तथा बजार व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थितिमा लाइट जडान सम्पन्न गरी औपचारिक रूपमा सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ। जडान गरिएको हाई मास्क लाइटको कुल क्षमता २ हजार ४ सय वाट रहेको छ।

नगर उपप्रमुख भुलिया कुमारी रानाले बजार क्षेत्रमा प्रकाशको पर्याप्त व्यवस्था हुनु नागरिकको सुरक्षा र व्यवसायिक वातावरण दुवैका लागि महत्वपूर्ण रहेको बताइन्।

“बजार क्षेत्रमा पर्याप्त उज्यालो हुँदा नागरिकलाई रातिको समयमा आवतजावत गर्न सहज हुन्छ। यसले बजारको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन र व्यापारिक गतिविधिका लागि सकारात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौँ, “उपप्रमुख रानाले भनिन्।

नगरपालिकाले ‘उज्यालो सहर’ अभियानलाई प्राथमिकतामा राख्दै नगरका विभिन्न स्थानमा सडक बत्ती तथा हाई मास्क लाइट विस्तार गर्ने जनाएको छ। बजार क्षेत्रसँगै मुख्य सडक, चोक तथा बढी आवागमन हुने स्थानलाई क्रमशः प्रकाशयुक्त बनाउने नगरपालिकाको योजना छ।

नगरपालिकाका अनुसार हाई मास्ट लाइटको नियमित सञ्चालन, विद्युत् महसुल तथा आवश्यक व्यवस्थापन नगरपालिकाले नै गर्नेछ। नयाँ बत्ती जडानसँगै आईबीआरडी र डोके बजार क्षेत्रमा रातिको दृश्यता बढ्नुका साथै बजारको सौन्दर्यमा समेत सुधार आउने अपेक्षा गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार