कञ्चनपुर। कञ्चनपुरको भीमदत्त–६ को आसन्न उपचुनावको चहलपहल विस्तारै बढ्दै गएको छ। सत्तारुढ नेकपा एमाले उम्मेवार टुंगो लगाएर चुनाव प्रचारप्रसारमा होमिएको छ।
नेकपा एमालेले भीमदत्त नगरपालिका–६ को अध्यक्षमा पूर्व–शिक्षक बहादुर चन्दलाई अघि सारेको छ। नेकपा एमालेले नेताहरुलाई उपचुनाव लक्षित जिम्मेवारी पनि तोकेको छ।
नेकपा एमाले कञ्चनपुरका उपाध्यक्ष जनक अवस्थीको नेतृत्वमा २ सय १ सदस्यीय मूल प्रचार समिति गठन गरिएको छ।
पोलिट ब्यूरो सदस्य राजेन्द्र रावललाई अनुगमन समितिको जिम्मेवारी दिइएको छ। उनको नेतृत्वमा कञ्चनपुर जिल्लाका केन्द्रीय सदस्य तथा निकायका सदस्यहरु, निर्वाचन क्षेत्र नम्बर ३ का क्षेत्रिय कमिटीका पदाधिकारी तथा सदस्य र जिल्ला कमिटी अध्यक्ष समेतको अनुगमन समिति बनेको हो।
एमाले कञ्चनपुर इन्चार्ज निरुदेवी पालको संयोजकत्वमा १५ सदस्यीय श्रोत व्यवस्थापन समिति गठन गरिएको छ।