महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरको जिल्ला सचिव पदमा निरञ्जन प्रसाद भट्टले उम्मेदवारी दिएका छन् । पार्टीको १५ औं नियमित अधिवेशन अन्तर्गत भट्टले शुक्रवार जिल्ला सचिव पदकालागि उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीको संगठनात्मक अनुभव, निर्माण व्यवसायको कुशल नेतृत्व, शैक्षिक तथा सामाजिक क्षेत्रमा सक्रियता र जिल्लाका विकास निर्माणका सवालमा देखाएको चासोलाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै भट्ट सचिव पदको प्रतिस्पर्धामा उत्रिएका हुन् ।

नेपाली कांग्रेसको देउवा समूहबाट सचिव पदका उम्मेदवार बनेका भट्ट यसअघिको जिल्ला कार्यसमितिमा जिल्ला सदस्यका रूपमा मनोनित भएका थिए । पार्टी संगठनसँगको यही अनुभवलाई थप जिम्मेवारीमा रूपान्तरण गर्दै संगठनात्मक गतिविधिलाई प्रभावकारी बनाउने उद्देश्यसहित भट्टले सचिव पदमा उम्मेदवारी दिएका हुन् ।

संगठन र नेतृत्वको अनुभव
भट्टको सार्वजनिक जीवनको एउटा महत्वपूर्ण पक्ष निर्माण व्यवसायसँग जोडिएको छ । उनी निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षको जिम्मेवारीमा रहेर व्यवसायीहरूको हकहित, पेशागत समस्या र संस्थागत विकासका विषयमा सक्रिय रहँदै आएका छन् ।
२०७९ सालमा निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा निर्वाचित भएका भट्टले आफ्नो कार्यकालमा व्यवसायीका समस्यासँगै जिल्लाका विकास निर्माणका विषयमा समेत चासो राखेका थिए । निर्माण व्यवसायी र सम्बन्धित सरकारी निकायबीच समन्वय गर्दै विकास आयोजनामा देखिएका समस्या समाधानका लागि पहल गर्नु उनको नेतृत्वकालको गतिविधिमध्ये एक हो ।
मझगाउँ विमानस्थल निर्माणमा समन्वयकारी पहल
भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरको अध्यक्ष रहँदा जिल्लाको महत्वपूर्ण विकास आयोजना मझगाउँ विमानस्थल निर्माणमा देखिएका समस्या समाधानका लागि पनि सक्रिय भएका थिए ।
विमानस्थल निर्माणका क्रममा देखिएका प्रक्रियागत तथा वातावरणीय विषयलाई सम्बोधन गर्दै आयोजना अघि बढाउन उनले सर्वदलीय तथा सर्वपक्षीय छलफलको संयोजन गरेका थिए । २०७९ मंसिरमा भएको उक्त पहलमा राजनीतिक दल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि, अभियन्ता तथा निर्माण व्यवसायीलाई एउटै छलफलमा सहभागी गराइएको थियो ।
मझगाउँ विमानस्थल कञ्चनपुरको पर्यटन, व्यापार, आवागमन र समग्र आर्थिक विकाससँग जोडिएको आयोजना भएकाले यसको निर्माणमा देखिएका समस्या समाधानका लागि विभिन्न पक्षलाई एक ठाउँमा ल्याउने उनको प्रयास सार्वजनिक सरोकारका विषयमा देखाएको सक्रियताको उदाहरणका रूपमा लिन सकिन्छ ।
शिक्षा र समाजसेवामा पनि सक्रिय
राजनीतिक तथा व्यावसायिक गतिविधिसँगै भट्टको अर्को महत्वपूर्ण परिचय शैक्षिक र सामाजिक क्षेत्रको सक्रियता हो ।
भीमदत्त नगरपालिका–१५, गोबरैयास्थित निङ्गलाशैनी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षका रूपमा उनले निरन्तर चौथो पटक सम्म जिम्मेवारी निर्वाह गरेका छन् । विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधार विकास तथा शिक्षण वातावरणलाई प्रविधिमैत्री बनाउने विषयमा उनको अह्म भूमिका रहेको छ ।
समाजसेवामा पु¥याएको योगदानका लागि उनी जनसेवाश्री पदकबाट समेत विभूषित भएका छन् । २०७८ मा संविधान दिवसको अवसरमा तत्कालिन सम्माननिय राष्ट्रिपति विद्या देवी भण्डारीबाट जनसेवा श्री पदकबाट भट्ट बिभूषित भएका थिए ।
भट्टको सामाजिक परिचय धार्मिक तथा सांस्कृतिक गतिविधिसँग पनि जोडिएको छ । महेन्द्रनगरमा वर्षौंदेखि सञ्चालन हुँदै आएको रामलीला कार्यक्रमको संयोजनमा उनी सक्रिय रहँदै आएका छन् । हालै सम्पन्न रामलीला कार्यक्रमको संयोजनसमेत उनले गरेका थिए ।
जिल्ला सचिव पदमा उम्मेदवारीको आधार
नेपाली कांग्रेसको जिल्ला सचिव पद संगठन सञ्चालन, पार्टीका गतिविधिको समन्वय, कार्यकर्ता व्यवस्थापन र नेतृत्वबीचको सम्बन्धलाई प्रभावकारी बनाउने महत्वपूर्ण जिम्मेवारी हो । यस्तो जिम्मेवारीसँग जोडिने संगठनात्मक अनुभव, व्यवस्थापकीय क्षमता र सामाजिक सम्बन्ध भट्टको सार्वजनिक जीवनका विभिन्न गतिविधिमा देखिन्छन् ।
जिल्ला सदस्यको जिम्मेवारीबाट पार्टीगत अनुभव हासिल गरेका भट्टले निर्माण व्यवसायी संघको नेतृत्व, विद्यालय व्यवस्थापन, सामाजिक सेवा, सांस्कृतिक कार्यक्रमको संयोजन लगायतमा बलियो भूमिका निर्वाह गरेका छन् ।
देउवा समूहबाट उम्मेदवार बनेका भट्टको सचिव पदको उम्मेदवारीलाई पार्टी संगठनमा आफ्नो अनुभव र सामाजिक सम्बन्धलाई उपयोग गर्ने प्रयासका रूपमा बुझ्न सकिन्छ । पार्टीभित्र संगठनात्मक एकता, कार्यकर्ताको सम्मान, युवाको सहभागिता र जनतासँग जोडिएका गतिविधिलाई प्राथमिकता दिनुपर्ने अपेक्षा उनीसँग जोडिएको छ ।
कुनै पनि राजनीतिक पद केवल पद प्राप्तिको विषय नभई जिम्मेवारी र जवाफदेहितासँग जोडिएको हुन्छ । त्यसैले भट्टको उम्मेदवारीको मूल्यांकन उनको विगतको अनुभवसँगै आगामी दिनमा पार्टी संगठनलाई कसरी व्यवस्थित, सक्रिय र जनमुखी बनाउँछन् भन्ने आधारमा हुनेछ ।
निर्माण व्यवसाय, शिक्षा, समाजसेवा, सांस्कृतिक गतिविधि र जिल्लाका विकास निर्माणका सवालमा प्राप्त अनुभवलाई पार्टी संगठनको जिम्मेवारीसँग जोड्ने लक्ष्यसहित निरञ्जन प्रसाद भट्ट नेपाली कांग्रेस कञ्चनपुरको सचिव पदको प्रतिस्पर्धामा उत्रिएका छन् ।


