कञ्चनपुर–१ मा कांग्रेस महाधिवेशन प्रतिनिधि सर्वसम्मत, युवा नेता दाउत तामाङसहित ३२ जना निर्विरोध

प्रकाशित:

 

किशोर तामाङ
कञ्चनपुर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको छ। क्षेत्र नम्बर १ बाट दाउत तामाङसहित ३२ जना महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्।

पहिलोपटक महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा सहभागी भएका युवा नेता तामाङ निर्विरोध निर्वाचित भएका हुन्। करिब डेढ दशकदेखि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलमा आबद्ध रहँदै राजनीतिक गतिविधिमा सक्रिय तामाङले पहिलो प्रयासमै महाधिवेशन प्रतिनिधिको जिम्मेवारी पाएका हुन्।

पुनर्वास नगरपालिका–२, अरनिको बस्ती निवासी तामाङ नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समिति सदस्यसमेत हुन्। उनी पुनर्वास नगरपालिकामा युवा उद्यमी तथा व्यवसायीका रूपमा समेत परिचित छन्।

मनु तामाङ र स्वर्गीय मान्सा तामाङका तीन सन्तानमध्ये जेठा छोराका रूपमा जन्मिएका दाउत सानैदेखि राजनीतिप्रति रुचि राख्दै कांग्रेसको राजनीतिमा जोडिएका थिए। तरुण दलमार्फत कांग्रेसको राजनीतिमा सक्रिय भएका उनी पछिल्लो समय संगठन निर्माण तथा स्थानीय राजनीतिक गतिविधिमा सक्रिय रहँदै आएका छन्।

कञ्चनपुर–१ बाट तामाङसँगै दिवान सिंह विष्ट, गोपीप्रसाद उपाध्याय, हरेन्द्र सिंह विष्ट, भरतबहादुर विष्ट, हर्कदेव जोशी, चेतनकुमार राई, सीताराम खड्का, यमप्रसाद पौडेल, दिनेश शर्मा, खिना भण्डारी, मीनादेवी चन्द, अनिता तामाङ, शान्तिनाथ, मदनराज उपाध्याय, मनोज भट्ट, राधा विष्ट, मानबहादुर रोकाया, रघुवीर सिंह भण्डारी, देवी पौडेल (लोहनी), तारा खड्का, विश्राम राना, धर्मसिंह बडायक, सगुन राना, सौवनिया राना, दाउत तामाङ, दिपबहादुर लामा, रमेश चुनारा, रामबहादुर खड्का, दीर्घबहादुर सिंह (ठकुरी), छेमानन्द राना, लालबहादुर रावत र धर्मराज जोशी महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

क्षेत्र नम्बर १ का सभापति गोपीप्रसाद उपाध्यायले निर्वाचन क्षेत्रभित्र महाधिवेशन प्रतिनिधि चयनको प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएको जानकारी दिए। उनका अनुसार क्षेत्रका विभिन्न तहमा सहमति कायम गर्दै प्रतिनिधि चयन गरिएको हो।

कांग्रेसको १५औँ महाधिवेशन आगामी १६ असोजदेखि आयोजना हुँदैछ। महाधिवेशन नजिकिँदै गर्दा देशभर कांग्रेसका स्थानीय तथा क्षेत्रीय तहमा नेतृत्व चयन र प्रतिनिधि छनोटको प्रक्रिया अघि बढिरहेको छ। कञ्चनपुर–१ मा भने महाधिवेशन प्रतिनिधि चयन सर्वसम्मत भएपछि स्थानीय कांग्रेस राजनीतिमा समेत यसको चर्चा बढेको छ।

ताजा समाचार

सम्बन्धित समाचार