महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य पदार्थ सङ्कलन, उत्खनन बन्द गरिने भएको छ । जेठ मसान्तपछि नदीजन्य पदार्थ, सङ्कलन र उत्खननको कार्य बन्द गरिने भएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार ढुङ्गा, बालुवा, गिटी, उत्खनन बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ (पहिलो संशोधन २०७९)दफा ४ उपदफा १६ बमोजिम प्रत्येक वर्षको असार १ गतेदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खनन गर्न नपाइने व्यवस्था रहेको छ ।

उत्खनन कार्य बन्द रहेको अवस्थामा उत्खनन, सङ्कलनको कार्य गरेको पाइए प्रचलित कानून अनुसार हदैसम्मको कारबाही हुने उनको भनाइ छ ।
