काठमाडौँ। काठमाडौँको बत्तीसपुतलीमा एक पुरुषमाथि लुटपाट गरेको आरोपमा प्रहरीले युवतीसहित चार जनालाई पक्राउ गरेको छ।

गएको शुक्रबार बेलुकी साढे १० बजे बत्तिसपुतलीस्थित सडकबाट ‘गेस्टहाउस जाउँ’ भन्दै लगेर युवतीले एकान्तमा लगेर अन्य साथीहरुसँग मिलेर लुटपाट गरेको आरोप छ।

लुटपाटमा संलग्न रहेको भन्दै प्रहरीले चितवनको पिप्ले घर भई हाल काठमाडौँको सिफल बस्ने १९ वर्षकी रस्मी क्षेत्री, पर्साको वीरगन्ज महानगरपालिका ३२ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका परबेस अन्सारी, सोही ठेगानाका १८ वर्षकै नजमुदिन अन्सारी र गोरखाको गोरखा नगरपालिका १३ घर भई पुरानोबानेश्वर बस्ने १८ वर्षका जनेद हुसेनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ।

सुनसरी घर भई हाल काठमाडौँको कागेश्वरी नगरपालिकाका बस्ने ३५ वर्षीय पुरुषलाई रस्मीले गेस्टहाउस जाउँ भन्दै एकान्तमा लगेर लुटपाट गरेको आरोप छ। उनको साथबाट मोवाइल, पर्स र घडी लगायतका सामान लुटपाट भएको थियो।
लुटपाट भएका सामान पनि उनीहरूको साथबाट बरामद गरेको अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए। पक्राउ परेका चारै जनालाई थप कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको छ।