बाजुरा। बाजुराको मार्तडी–कोल्टी सडकखण्ड शिलान्यास भएको २५ वर्षपछि कोल्टीमा बस सेवा सञ्चालनमा आएको छ । दुर्गम क्षेत्र कोल्टीमा पहिलो पटक बस पुगेपछि यहाँका स्थानीय निकै खुसी भएका छन् ।
मार्तडीबाट ४२ किलोमिटरको दुरीमा रहेको कोल्टीमा बस पुगेपछि अब सहज रूपमा सर्वसाधारणले यात्रा गर्न पाउने विश्वास बुढीनन्दा नगरपालिका प्रमुख जनककुमार बोहराले बताए।
उनका अनुसार शुक्रबार महाकाली यातायात प्रालिद्वारा सञ्चालित तीन वटा बस कोल्टी पुगेका हुन् । आफूहरूको लामो समयको प्रयासपछि कोल्टीमा बस सेवा सञ्चालन भएको उनले बताए ।
उनले भने, “यहाँका नागरिकले बस चढ्न त परै जावस्, बस देख्नसम्म पाएका थिएनन् । कोल्टीमा बस देख्दा सर्वसाधारण खुसी भएका छन् ।”
मार्तडी–कोल्टी सडकका बाउली र बुढीनन्दाको दानसाँघुमा पुल नहुँदा बर्सातका बेला भने बस चल्न कठिनाइ हुने भएको छ । पुल बनाउनेतर्फ ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ ।
कोल्टीमा बस पुगेपछि स्थानीयले बाजागाजासहित बसका चालकसहितका कर्मचारी र यात्रुको स्वागत गरेका थिए ।
कोल्टीमा बस पुगेपछि बाजुराका बुढीनन्दा, हिमाली, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका बासिन्दालाई सदरमुकाम मार्तडी र अन्य जिल्ला आउनजान सहज हुने भएको छ ।
यस्तै गरेर मुगु र हुम्लाका १३ पालिकाका बासिन्दालाई समेत कोल्टी, मार्तडी हुँदै धनगढी, नेपालगन्ज र काठमाडौँ पुग्न सजिलो हुने छ ।
यसअघि ४२ किलोमिटरको दुरीमा चल्ने जिपमा एक हजार रुपियाँ भाडा तिर्ने बाध्यतामा रहेका सर्वसाधारणले अब पाँच सय रुपियाँमै यात्रा गर्न पाउने भएका छन् ।