बैतडी । बैतडी पाटन नगरपालिका–७ किम्तोलीमा सोमबार बिहान करीब ९ बजे परेको चट्याङले दुई जनालाई घाइते बनाएको छ। चट्याङले २५ वर्षीया निर्मला चन्द र १२ वर्षीया अनिता भट्टलाई घाइते पारेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चट्याङ विद्युत पोलमा परेको र यसले ती दुईलाई चोट पुर्याएको बताइएको छ।

निर्मला चन्दको घाँटी नजिक जलेको छ भने अनिता भट्टको शरीरमा चोट लागेको छ। दुवैलाई उपचारको लागि डडेलधुरा अस्पताल पठाइएको छ। चट्याङका कारण स्थानीय जनकबहादुर चन्दको भैंसी र दीपक दमाईको गोरु मरेका छन्। साथै, डम्मरदत्त भट्ट, धर्मानन्द भट्ट र जनकबहादुर चन्दको घरमा गरिएको वाइरिङ नष्ट भएको र विद्युत मिटर जलेको जानकारी प्राप्त भएको छ।
