कञ्चनपुर। भीमदत्त नगरपालिका–६ को वडाध्यक्षको उपचुनावको चहलपहल बढेको छ। मतदानको दिन नजिकिएसँगै दलहरु अन्तिम चुनावी प्रसारमा व्यस्त छन्।
नेपाली कांग्रेसबाट प्रकाश चन्दलाई चुनावी मैदानमा छन्। घरदैलोको क्रममा मतदाताको सकरात्मक प्रतिक्रिया पाइएकाले काँग्रेसको जित सुनिश्चित भएको प्रचारप्रसार संयोजक कृष्ण कुँवरले बताए।
‘वडा र नगरपालिकामा बहुमत हाम्रो छ। काँग्रेसले जिते नगरपालिकाबाट बजेट सुनिश्चित हुने र विकास निर्माणको काम गर्न सक्ने सकरात्मक सन्देश जनतामा गएको छ,’ उनी भन्छन्, ‘स्वच्छ छवि भएको उम्मेदवार छन्। चारित्रिक रुपमा पनि निस्कलंक छन्। जनता काँग्रेसलाई जिताउन आतुर छन्।’
प्रकाश राजनीतिसँगै सामाजिक कार्यमा अग्रसर छन्। सामाजिक सेवाभावले पु-याएको योगदानको कदर गर्दै सानदार जित हासिल हुने काँग्रेस नेताहरुको दाबी छ।
०७९ मा नेपाली काँग्रेसबाट विजयी वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त पदमा मंसिर १६ मा उपचुनाव हुन लागेको हो। खड्काले बुनेका योजना पुरा काम गर्न पनि काँग्रेसलाई जिताउनु पर्ने नेताहरुको भनाइ छ।
प्रकाश नेपाल विद्यार्थी संघ हुँदै कांग्रेसको मूल राजनीतिमा प्रवेश गरे। उनी अहिले नेपाली कांग्रेस भीमदत्त नगरपालिका-६ का वडा सभापति छन्।
२०५९ सालमा उनी नेपाल विद्यार्थी संघको सिद्धनाथ बहुमुखी क्याम्पस एकाइ सभापति बने। त्यसपछि नेविसंघको जिल्ला सदस्य, सचिव हुँदै कांग्रेसको भीमदत्त नगर कार्यसमितिमा उनी प्रवेश गरे।
कांग्रेसको नगर कार्यसमिति सदस्य, वडा कार्यसमिति सचिव हुँदै प्रकाश अहिले वडा सभापति छन्। २०६४ सालमा सिद्धनाथ बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा प्रतिस्पर्धा गरेका उनी पराजित भए।
प्रकाशले कक्षा ८ सम्मको अध्ययन शान्ति निकेतन माध्यमिक विद्यालयबाट गरे। जहाँ उनका काका बहादुर शिक्षक थिए। त्यसपछि बैजनाथ उच्च माध्यमिक विद्यालयबाट २०५८ सालमा उनले एसएलसी उत्तीर्ण गरेका थिए। उनले कुमाउ विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका छन्।