कञ्चनपुर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पानी बाराबारको अवस्था छ। माओवादीसँगको सत्ता सहकार्य तोडेर एमाले र नेपाली कांग्रेसबीच सत्ता सहकार्य भएपछि माओवादी अध्यक्ष प्रचण्ड प्रतिपक्षमा छन्।
कांग्रेसको सहकार्यका एमालेका अध्यक्ष ओलीले सरकारको नेतृत्व गरिरहेका छन्। प्रतिपक्षमा पुगेदेखि प्रचण्ड र ओली सार्वजनिक कार्यक्रममै एक अर्काविरुद्ध भाषण गर्ने गरेका छन्।
सत्ता उलटफेरपछि केन्द्रमा पानी बाराबारको अवस्थामा रहेका यी दुवै दलबीच स्थानीय तह उपचुनावमा भने तालमेल भएको छ। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षका लागि मंसिर १६ गते उपचुनावमा एमाले र माओवादी केन्द्रको गठबन्धन छ। अब माओवादीले एमालेकी उम्मेदवार सुलोचना भण्डारी बुढालाई सर्मथन गर्नेछ।
स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राप्रपाले उम्मेदवारी दिएका थिए।
नेकपा माओवादी केन्द्रकी राजुकुमारी विक र राप्रपाकी सुनादेवी थापाले उम्मेदवारी फिर्ता लिइन्। नेकपा एमालेसँग तालमेल गर्ने सहमतिपछि नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई फिर्ता गरेको हो। स्वामीकार्तिक खापर गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले लिखित सहमति गरेरै गठबन्धन गरेका हुन।
नेकपा माओवादी केन्द्रका सचिव रमेश विकका अनुसार ०८४ सालको स्थानीय तह चुनावमा माओवादीलाई उपाध्यक्षमा सहयोग गर्ने लिखित सहमति गरेको छ। ०८४ को स्थानीय तह चुनावमा ५ वटा वडा रहेको स्वामीकार्तिक खापरको एक वडाध्यक्ष, ४ वडा सदस्य र एक कार्यपालिका सदस्य एमालेले माओवादीलाई दिने गरी उपचुनावमा सहमति गरेका छन्।
चुनावमा एक्लै लड्ने रणनीतिमा रहेको माओवादी केन्द्र बाजुरामा विद्रोह गर्दै गाउँ कमिटीले एमालेसँग सहकार्य गरेको हो। ‘हामी एक्लै लडेर जित्न सकिने अवस्था थिएन। पार्टी केन्द्रको तालमेल नगर्ने नीति मान्यो भने स्थानीय तहमा प्रतिनिधित्व नै नहुने भयो। स्थानीय सरकारमा भएन भने पार्टी कार्यकर्ता तथा जनताको इच्छाअनुसार काम गर्न सकिदैन,’ माओवादी केन्द्र बाजुराका सचिव विकले भने, ‘त्यसैले गाउँ कमिटीका कार्यकर्ताको भावना बुझेर एमालेसँग सहकार्य गरेका हौँ।’
गाउँ समितिले निर्णय गरेर एमालेसँग तालमेल गरिएको उनको भनाइ छ। नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेलका लामो समय छलफल चलेपनि कांग्रेसले आनाकानी गरेको उनको भनाइ छ।
माओवादी स्वामीकार्तिक खापर गाउँ समितिले वार्ता टोली नै बनाएर गठबन्धनका लागि गृहकार्य गरिरहेको थियो। कांग्रेसले आनाकानीपछि एमालेसँग छलफल गरेर लिखित सहमतिसहित गठबन्धन गरिएको हो।
एमालेसँग चुनावी सहकार्य गरेपछि माओवादी बाजुरामा मतभेद देखिएको छ। माओवादी केन्द्र बाजुराका संयोजक देवीचन्द्र बुढाले माओवादीको उम्मेदवारी फिर्ता लिएपछि निर्देशन विपरितको कार्य भएको बताए।
संयोजक बुढाले विज्ञप्ति जारी गर्दै पार्टीको नीतिविपरित गतिविधि गर्नेलाई कारबाहीको चेतावनी दिएका छन्। ‘यस अवैधानिक कार्यमा जिल्ला पार्टीको संलग्नता नरहेको र विना अनुमति उम्मेदवारी फिर्ता भएकोले यस कार्यप्रति घोर आपत्ति जनाउँदै उक्त काम पार्टी विधान विपरीत भएकालेले यसमा संलग्न जुनसुकै तहका कमरेडहरूलाई आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी गर्दछौं’, विज्ञप्तिमा भनिएको छ।
कार्यकर्ताको मनोभावअनुसार पार्टीलाई स्थानीय तहमा प्रतिनिधित्व गराउन तालमेल गरिएको बताउँदै माओवादी बाजुराका सचिव विक सहमतिबाट पछि नहट्ने बताउँछन्। ‘माओवादी केन्द्रमा जिल्ला भन्दा अहिले गाउँ समिति अधिकार सम्पन्न छ। स्थानीय स्तरको अवस्था बुझेर पार्टी जोगाउन तालमेल गरेका हौ। त्यसबाट पछि हट्दैनौँ,’ उनले भने।
माओवादी केन्द्रसँग तालमेल भएपछि नेकपा एमाले उत्साहित बनेको छ। कम्युनिष्ट एकताको सन्देश प्रवाह गर्ने गरी ०८४ सम्मकै लागि सहमित गरेर गठबन्धन गरिएको नेकपा एमाले बाजुराका अध्यक्ष लालबहादुर वलीले बताए।
‘०७९ को चुनावमा कम्युनिष्ट तिन तिर हुँदा एमाले केही कमजोर हुनपुग्यो। माओवादीको २र३ सय मत छ। स्थानीय तहको उपचुनावमा यसले ठूलो महत्व राख्छ,’ उनले भने, ‘०४८ सालदेखि एमाले बलियो नै हो। गठबन्धन भएपछि हाम्रो जित सुनिश्चित छ।’
लामो छलफलपछि माओवादी केन्द्रसँग चुनावी तालमेल गर्ने बिन्दुमा पुगिएको उनको भनाइ छ। राजनीतिक धरातलमा टेकेर गठबन्धन गर्नु पर्ने उनी बताउँछन्।
‘जनताको आवश्यकताअनुसार राजनीतिक धरातलमा टेकेर गठबन्धन गर्ने हो। माथिबाट गठबन्धनको परिकल्पना मात्रै हुनसक्छ। तल्लो तहको स्वर सुनेर गठबन्धन गर्नुपर्छ,’ उनले भने, ‘स्वामीकार्तिक खापरबाट हामीले अवसर र चुनौतीपूर्ण अभियान सुरु गरेका छौँ। अब ०८४ मा सम्भव भएसम्मका अन्य पालिका पनि लैजान्छौँ।’
०७९ को स्थानीय तह चुनावमा उपाध्यक्षमा निर्वाचित कांग्रेसकी मैना जोशीको ०८० माघ ३ मा निधन भएपछि उपचुनाव हुन लागेको हो। ०७९ को उपचुनावमा स्वामीकार्तिक खापर गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालमेल भएको थियो। नेपाली कांग्रेस र नेकपा एमाले एक्ला एक्लै चुनाव लडेका थिए।
स्वामीकार्तिक खापरको अध्यक्षमा नेपाली कांग्रेसका भरतबहादुर रोकाया २ हजार ११ मतसहित विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चतरभुज शाहीले १ हजार ७ सय ५७ मत ल्याएका थिए।
नेकपा एकीकृत समाजावादीका चिरञ्जीवी शाहीले १ हजार २ सय ८२ मत ल्याएका थिए। उपाध्यक्षमा कांग्रेसकी मैनाले १ हजार ८ सय १० मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी सुलोचना भण्डारी बुढाले १ हजार ६ सय ३७, माओवादीका सुरेश बहादुर रोकायाले १ हजार २ सय १३ मत ल्याएका थिए।
स्वामीकार्तिक खापरका ५ वटा वडामध्ये एक माओवादी, एक एमालेले जितेको थियो। अन्य ३ वडा कांग्रेसले जितेको थियो। ०७९ को स्थानीय तह चुनावमा कांग्रेसले स्वामीकार्तिक खापरमा जमाएको वर्चश्व तोड्दै जित निकाल्न एमालेले माओवादीसँग गठबन्धन गरेको हो।