महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ६ को कार्यालय भवन उद्घाटन गरिएको छ । बुधबार नगर प्रमुख हेमराज ओझाले वडा कार्यालय भवनको उद्घाटन गरेका हुन् ।
एक करोड ३५ लाखको लागतमा वडा कार्यालय भवन बनेको कृष्णपुर–६ का वडाध्यक्ष बाबुराम चौधरीले बताए । आर्थिक वर्ष २०७८÷०७९ मा वडा कार्यालय भवनको ठेक्का सम्झौता भएको उनले बताए ।
कैलाश–राखी जेभीले उक्त वडा कार्यालय भवन निर्माण गरेको हो । ठेक्कामा धेरै ‘बिलो’ मा गएका कारण घाटा भएको निर्माण कम्पनीका सञ्चालन चन्द्र सिंह कार्कीले बताए । उनका अनुसार झण्डै ५० प्रतिशत घटीमा वडा कार्यालय भवन निर्माण भएको हो ।
वडा कार्यालय भवन उद्घाटन गर्दै नगर प्रमुख ओझाले कृष्णपुर नगरपालिकामा विकासका गतिविधि बढ्दो गतिमा रहेको बताए । भौतिक पुर्वाधार देखि स्वास्थ्य, शिक्षा, बिजुली बत्ती, खानेपानीका क्षेत्रमा नगरपालिकाले विशेष ध्यान दिँदै आएको उनले बताए ।