हरिणको मासु र भरुवा बन्दुक बरामद, अध्यक्ष र छिमेकी फरार

प्रकाशित:

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगर नाखा टोलमा बिहीबार वनकर्मीको टोलीले भरुवा बन्दुक र हरिणको मासु बरामद गरेको छ। विशेष सुराकीका आधारमा डिभिजन वन कार्यालय सर्लाहीबाट खटिएको टोलीले  जानकी सामुदायिक वनका अध्यक्ष दिनेश विक र उनका छिमेकी हरिनारायण महराको घरमा छापा मारेको हो।

अध्यक्ष विकको घरबाट २ केजी र महराको घरबाट १३ केजी हरिणको मासु फेला परेको छ। यद्यपि, दुबै व्यक्ति फरार छन् र उनीहरूको खोजी जारी रहेको डिभिजन वन कार्यालयले जनाएको छ।

बरामद गरिएको सामग्रीमा एक थान भरुवा बन्दुक, नाल र खुकुरी पनि समावेश छन्। भरुवा बन्दुकमा टाढासम्म उज्यालो फाल्ने टर्च लाइट जडान गरिएकोले यो पेशेवर शिकारीद्वारा प्रयोग गरिएको आशंका गरिएको छ।

बरामद गरिएको हरिणको मासु जनप्रतिनिधि, सञ्चारकर्मी र वनकर्मीलगायतको रोहबरमा डिभिजन वन कार्यालय परिसरमा खाल्डो खनेर गाडिएको छ। थप अनुसन्धानका लागि बरामद गरिएको हतियार लामबन्दीस्थित डिभिजन वन कार्यालयमा लैजानु परेको छ।

ताजा समाचार

सम्बन्धित समाचार