सरकारी मोटरसाइकलमा आगो लगाउने सशस्त्र प्रहरीका भूतपूर्व जवान पक्राउ

प्रकाशित:

महेन्द्रनगर । डडेल्धुरामा एकजना सशस्त्र प्रहरीका भूतपुर्व जवानले सरकारी मोटरसाइकलमा आगो लगाएका छन् । परशुरामधाम सब–डिभिजन वन कार्यालयको मोटरसाइकल पार्किङ गरेर राखेको अवस्थामा आगो लगाएर नष्ट गरिएको हो ।

परशुरामधाम सब–डिभिजन वन कार्यालयको सुप प्र ००४–००१ ब ००१९ नम्बर प्लेटको सरकारी मोटरसाइकल सशस्त्र प्रहरीका भूतपूर्व जवान धनबहादुर चन्दको घरमा पार्किङ गरेर राखेको अवस्थाबाट नै जवान चन्दले उक्त मोटरसाइकलमा आगो लगाएका हुन् ।

मोटरसाइकल परिगाउँस्थित चन्दको घरमा राखेर वनका कर्मचारीहरू वडा नम्बर ३ को सिमल्टामा फिल्डको काम गर्न गएका बेला मोटरसाइकलमा आगजनी गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाका इन्चार्ज प्रहरी निरीक्षक सुरज रोकायाले बताए ।

मोटरसाइकल जलाएको आशङ्कामा स्थानीय ४० वर्षीय धनबहादुर चन्दलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।

चन्दले मदिरा सेवन गरेर मोटरसाइकल जलाएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । आगजनीबाट मोटरसाइकल जलेर नष्ट भएको छ ।

अभियुक्त चन्दउपर सरकारी सम्पत्तिमा आगजनी सम्बन्धी कसुरमा मुद्दा दर्ता गर्न अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय डेडेल्धुराले जनाइएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार