कोहलपुर। बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् ।
उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही १३ असोजमा बाँकेको नौवस्ता कारागारबाट छुटेका थिए ।
कोहलपुर नगरपालिका–८ स्थित सरस्वती चोक जाने बाटोमा प्रहरीले २७ भदौमा टाउकोबिनाको शव फेला परेको थियो । लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरसहित टोली घटनास्थलमा लगेर अनुसन्धान थालेको थियो ।
पछि मृतक कोहलपुरको नहरटोल बस्ने चन्द्रबहादुर कामी भएको खुलेको थियो । उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् ।
प्रहरीका अनुसार, पक्राउ परेका परियार बसेको आफन्तको घरको सेप्टिक ट्यांकीबाट मृतकको टाउको र घटनामा प्रयोग भएको हतियारसहित बरामद गरिएको छ ।
मंगलबार प्राविधिक पक्षको विश्लेषणसहित खोजतलासमा खटिएको टोलीले बिहान ८ बजेतिर प्रहरीले हत्या आरोपी परियारलाई नियन्त्रणमा लिएको हो।
त्यसक्रममा गरिएको प्रारम्भिक सोधपुछमा उनले हत्यामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार, परियारले साइकलमा हिँडिरहेका बेला बाटोमा सुतिरहेको अवस्थामा चन्द्रबहादुर कामीलाई देखेका थिए । त्यसक्रममा साइकलले उनलाई छोएको थियो ।
‘त्यही विषयमा वादविवाद भएको देखिन्छ, त्यति नै बेला धारिलो हतियारले प्रहार भएको खुलेको छ’, डीएसपी भण्डारीले भने, ‘कसैले थाहा नपाओस् भन्ने हिसाबले टाउको लुकाएको उनले भनेका छन् ।’
थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।