महेन्द्रनगर । कञ्चनपुरमा मानव वन्यजन्तु द्धन्द्ध बढ्दो छ। वन्यजन्तुको जैविक मार्गमा बस्ती बस्नुका साथै सचेतना नअपनाउँदा मानव वन्यजन्तु द्धन्द्धका घटना बढिरहेका छन्।

कञ्चनपुर मानव वन्यजन्तु द्धन्द्धको जोखिम रहेको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ। बिशेष गरी जंगली हात्तीहरुको आक्रमणबाट मानवीय क्षतिका घटना बढिरहेको डिभिजन वन कार्यालयले जनाएको छ।

कञ्चनपुरमा दुई साताको अवधिमै जंगली हात्तीको आक्रमणबाट दुई जनाले ज्यान गुमाए। गएराति मात्रै बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरीको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

सोमबार राति साढे १ बजेतिर नाचगान हेरेर चौधरी र उनका अन्य दुई साथी एउटै मोटरसाइकलमा घर फर्किंदै थिए।
त्यसैबेला उनीहरू बेलौरी नगरपालिका–५ स्थित पुष्पलाल स्मृति सामुदायिक वन क्षेत्रमा जंगली हात्तीको आक्रमणमा परेर थिए।
चौधरीका दुई साथीले भागेर ज्यान जोगाए। से ४ प ८६१८ नम्बरको उक्त मोटरसाइकल उमेशले चलाएका थिए भने उनका २ साथी बेलौरी ढक्काचादरकै २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नवीन चौधरी पछाडि बसेका थिए।
१३ असोजमा पनि कञ्चनपुरको लालझाडी गाउँपालिका–४ डाँडाजाइमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो। बस्ती पसको हात्तीको बथान धपाउने क्रममा स्थानीय रामदल रानाको मृत्यु भएको थियो।
हात्तीको आक्रमणबाट मानवीय क्षतिका घटना बढ्दै गएपछि डिभिजन वन कार्यालयले हात्ती–मानव सहअस्तित्व कायम गर्नमा जोड दिएको छ।
सहअस्तित्वको लागि हात्तीको नजिक नजाने, अगाडिबाट भाग्न नखोज्ने, अन्नपात राखेको कोठा र भान्सा कोठामा नसुत्ने, हात्तीलाई ढुंगा नहान्ने र उत्तेजित नबनाउन आग्रह गरिएको छ।