सवारी दुर्घटनामा दुई प्रहरी जवानले ज्यान गुमाए

प्रकाशित:

विराटनगर। मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ । आइतबार जिल्लाको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक मोटरसाइकल र कार ठोक्किदा प्रहरी जवान चित्रसागर राईको मृत्यु भएको हो ।
घटनाले स्थानीय प्रहरी समुदायमा शोकको लहर फैलाएको छ।

पूर्व–पश्चिम राजमार्गमा आइतबार साँझ ६ः४० बजेतिर, कार र मोटरसाइकल ठोक्किदा अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत ३२ वर्षीय प्रहरी जवान राईको मृत्यु भएको हो ।

प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल संग ठोक्किएको हो । दुर्घटनापछि प्रहरीले कारका चालक ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ।

त्यस्तै आइतबार नै कोशी राजमार्गको बूढीगंगामा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवान चन्द्रबहादुर तामाङको मृत्यु भएको छ ।

दिउँसो १ः४० बजेको समयमा गोकुवा चोकमा मिक्सचर ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवान २७ वर्षीय तामाङको मृत्यु भएको हो । तामाङको मोटरसाइकलमा अर्को सशस्त्र प्रहरी जवान ३० वर्षीय युशन राई पनि सवार थिए, उनी घाइते भएका छन्।

प्रहरीका अनुसार, मिक्सचर ट्रक, जुन प्रदेश १–०२–००१ क ३७१३ नम्बरको थियो, दक्षिणबाट उत्तरतर्फ जाँदै गर्दा मोडिदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो । घटनापछि मिक्सचर ट्रक र चालक ३० वर्षीय सुवास झाँगडलाई पनि प्रहरीले नियन्त्रणमा लिइएको छ।

ताजा समाचार

सम्बन्धित समाचार