कञ्चनपुर। भारत उत्तराखण्डको हल्द्धानी नजिक जिप दुर्घटना भएको छ। भीमतालबाट विद्युतको पोल बोकेर हरिशतालतर्फ जाँदै गरेको जिप पटरानी नजिकै अनियन्त्रित भएर १५० फिट गहिरो खाल्डोमा खसेको हो।
दुर्घटनामा एक विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घाइतेको सुशीला तिवारी अस्पताल हल्द्वानीमा उपचार भइरहेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार भीमताल निवासी मनोज भट्ट पिकअप जिपमा बिजुलीको पोल लिएर भीमतालबाट हरिशतालतर्फ गइरहेका थिए।
गाडीमा निखिल, देवेन्द्र र भोलाबाहेक मनोजका साथी अरुण पनि सवार थिए। बाटोमा लुगाडबाट लिफ्ट मागेर २० वर्षीय नीमा परगानी, पिंकी र चन्दु पनि गाडीमा चढेका थिए।
बुधबार बेलुका ५ बजेतिर लुगाडभन्दा करिब ३ सय मिटर अगाडि अनियन्त्रित भएर गाडी डेढ सय फिट गहिरो खाडलमा खसेको थियो।
दुर्घटनामा नीमाको घटनास्थलमै मृत्यु भएको थियो। सँग गाडीमा बसेका पिंकी, नन्दु, चालक मनोज भट्ट, अरुण, निखिल, देवेन्द्र र भोला घाइते भएका छन्।
नीमा हल्द्वानीको डिग्री कलेजमा पढ्दै थिइन्। नेटवर्क नहुँदा दुर्घटनाको बारेमा ढिलो खबर आएको स्थानीय मिडियाले लेखेका छन्।