काठमाडौँ । यौन सम्पर्ककै क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ । भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो ।
ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ । पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ ।
स्थानीय एसपी सुशील अग्रवालका अनुसार फरेन्सिक रिपोर्टमा अत्यधिक रक्तस्रावकै कारण युवतीको मृत्यु भएको पाइएको छ । युवकले समयमै पीडित युवतीलाई अस्पताल लगेको भए बचाउन सकिने निष्कर्ष पनि प्रहरीले निकालेको छ ।
प्रहरीले दर्ता गरेको उजुरी अनुसार पीडित युवती नर्सिङ विषयकी छात्रा थिइन् । ती युवती आरोपित युवकसँग तीन वर्ष अघि नै परिचित थिइन् । तर दुई वर्षभन्दा लामो समय उनीहरू सम्पर्कमा रहेनन् ।
हालै केही महिना अघि उनीहरूबिच फेरि सम्पर्क भयो । सेप्टेम्बर २३ का दिन उनीहरू केही निजी पल बिताउन भनेर होटलमा पुगेको प्रहरीको भनाइ छ ।
युवतीसँग यौन सम्पर्कपछि रक्तस्राव भएको र यस क्रममा युवकले तत्काल अस्पताल लैजानुपर्नेमा अनलाइनबाट विभिन्न औषधि खोजी गरेको, साथीहरूसँग छलफल गरेर समय बिताएको प्रहरीको आरोप छ ।
होटलबाट बाहिरिनु अघि ती युवकले रगतका दाग सफा गरेर प्रमाण मेटाउने प्रयास गरेको पनि प्रहरीले जनाएको छ ।