कञ्चनपुर। लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगरले ठूलो परिणाममा खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रहरी नायब निरीक्षक केशव जोशीको नेतृत्वमा खटिएको टोलीले बुधबार बिहान नेपालगञ्ज उपमहानगरपालिका–२० को एयरपोर्टबाट दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको बैराहिज रुपेडिया स्टेशन रोड उत्तर प्रदेश बस्ने ३३ वर्षीय राहुल शुक्ला र बर्दियाको गेरूवा गाउँपालिका–५ घर भएका ४१ वर्षीय बालचन्द्र कामी रहेको लागुऔषध ब्युरोले जनाएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवै जनालाई शंकास्पद रुपमा बसिरहेको अवस्थामा नियणन्त्रमा लिएको थियो। लागुऔषध नियन्त्रण ब्यूरो शाखा महेन्द्रनगर र लागुऔषध नियन्त्रणमा ब्यूरो नेपालगञ्जको संयुक्त टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
प्रहरीले भारतीय नागरिक राहुल शुक्लाले तल्लो शरीरमा लगाएको खैरो रंगको टाउजरको दाहिने खल्तीमा प्लास्टिकमा बेरेर लुकाएको अवस्थामा खैरो हेरोइन बरामद गरिएको हो।
प्लाष्टिकमा बेरेको अवस्थामा फेला परेको खैरो हेरोइनको तौल १ सय २ ग्राम थियो। लागु औषधको शुद्ध तौल गर्दा ९९ ग्राम रहेको ब्यूरोले जनाएको छ।
उनीहरू दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नेपालगञ्ज बुझाइएको छ।