बसको अग्रिम टिकट बुकिङ बन्द गर्नेतर्फ यातायात व्यवसायीको तयारी

प्रकाशित:

काठमाडौं । बाढीपहिरोले बिग्रिएका सडकका कारण सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारीमा यातायात व्यवसायीहरू छन्। यातायात व्यवस्था विभागको समन्वयमा गत शनिबार (१२ असोज) देखि बुकिङ खुला गरिएको थियो, तर १२ गतेको विपद्ले बस सञ्चालनमा समस्या उत्पन्न गराएको भन्दै व्यवसायीहरूले बुकिङ बन्द गर्न लागेका हुन्।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भने, “हिजो २ बजे गएका गाडी स्वयम्भू, कलंकी र नागढुंगामा रोकिएका छन्। बुकिङ गरेर के गर्ने?” उनले थपे कि आज सरकारसँग छलफल गरेर बुकिङ बन्द गर्ने निर्णय गरिनेछ।

सिटौलाले यस विषयमा महासंघको बैठकमा छलफल हुने जानकारी दिए। “१७ असोजदेखि टिकट बुकिङ गरिसकेका धेरै यात्रु छन्। यस्को बारेमा के गर्ने भन्ने विषयमा सरकारसँग छलफल हुनेछ। साँझसम्म विज्ञप्ति मार्फत जानकारी दिइनेछ,” उनले भने।

१२ असोजमा आएको बाढीपहिरोले काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा ठूलो क्षति पुर्याएको छ। सडक र पुलमा क्षति भएकोले सवारी साधन सञ्चालनमा कठिनाइ भइरहेको छ। सोमबारदेखि काठमाडौं बसपार्कबाट सवारी साधन सञ्चालन गरिए पनि गन्तव्यमा पुग्न सकेका छैनन्। अरनिको राजमार्ग भने पूर्णरूपमा बन्द जस्तै अवस्थामा रहेको छ।

 

ताजा समाचार

सम्बन्धित समाचार