कञ्चनपुर। कैलालीको गौरीगंगा नगरपालिका–१ सोमबार राति दुई मोटरसाइक एकआपसमा जुधे। दुर्घटनामा दुवै मोटरसाइकलका चालकले ज्यान गुमाएको प्रहरीले जनाएको छ।
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत मोटरसाइकल जुधेका थिए। जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कवीन्द्र बोहराका अनुसार दुर्घटनामा कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २६ वर्षीय चिरञ्जीवी मल्लको मृत्यु भएको हो।
यो पनिः मोटरसाइकल दुर्घटनामा शुक्लाफाँटाका युवकको मृत्यु, कैलालीका अर्का युवक पनि रहेनन्
चौधरीले चलाएको से ६ प ६२७९ र मल्लले चलाएको बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल आपसमा ठोकिएका हुन्।
मल्लको मोटरसाइकलमा सवार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ कै २२ वर्षीय दीपक बोहरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ। उनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ।
मल्ल दसैँ मनाउन काठमाडौँबाट घर फर्किँदै थिए। तर दुर्घटनामा परेर बाटोमै ज्यान गुमाए।
मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका मल्ल र चौधरीलाई उपचारका लागि धनगढीको नवजीवन अस्पताल पु-याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। मृतक दुवैको शव अहिले सेती प्रादेशिक अस्पतालमा राखिएको छ।