डेविड तामाङ
कञ्चनपुर,२७असोज २०८३ ।दौडिन्छ गाउँ, बदलिन्छ गाउँ’ भन्ने मूल नाराका साथ कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित बुद्धबस्ती चगाउँमा ‘गाउँले १० किमि म्याराथन’ आयोजना हुने भएको छ। गाउँलेका लागि गाउँले संस्थाद्वारा आयोजित उक्त म्याराथन सिद्धार्थ युवा क्लब (SYC) को समन्वयमा सञ्चालन हुन लागेको हो।

१६औँ रनिङ चाँदी कप फुटबल प्रतियोगिताको अवसर पारेर आयोजना गर्न लागिएको म्याराथनले खेलकुदको विकाससँगै लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने, युवालाई सकारात्मक गतिविधिमा संलग्न गराउने तथा स्वस्थ, सभ्य र सुरक्षित समाज निर्माण गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ।

म्याराथन आगामी २०८३ साल कात्तिक ११ गते बुधबार बिहान ११ बजे १६औँ रनिङ चाँदी कप फुटबल प्रतियोगिताको अन्तिम दिन सञ्चालन हुनेछ। प्रतियोगितामा सहभागी हुन इच्छुक पुनर्वासका धावक, खेलप्रेमी तथा सर्वसाधारणलाई आयोजकले आह्वान गरेको छ।

आयोजकका अनुसार म्याराथनका लागि नाम दर्ता खुला भइसकेको छ। सहभागी हुन इच्छुक व्यक्तिहरूले सिद्धार्थ युवा क्लब (SYC) मा सम्पर्क गरी आफ्नो नाम दर्ता गराउन सक्नेछन्। साथै, नाम दर्ता गर्ने पहिलोदेखि दसौँ स्थानसम्मका सहभागीलाई फुटबल प्रतियोगिताको फाइनल खेल हेर्नका लागि टिकट उपलब्ध गराउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
सिद्धार्थ युवा क्लबका अध्यक्ष प्रकाश तामाङले म्याराथन केवल दौड प्रतियोगितामा सीमित नरहेको बताए। उनका अनुसार यो समाजमा बढ्दो लागुऔषध दुर्व्यसनविरुद्ध सामूहिक आवाज उठाउने र युवालाई खेलकुद, अनुशासन तथा सकारात्मक सोचतर्फ प्रेरित गर्ने उद्देश्यले अघि सारिएको सामाजिक अभियान हो।
अध्यक्ष तामाङले गाउँको विकास, युवाको उज्ज्वल भविष्य र समाजको सकारात्मक रूपान्तरणका लागि स्थानीयस्तरबाटै एकता, सहकार्य र सामूहिक प्रयास आवश्यक रहेको सन्देश म्याराथनले दिने विश्वास व्यक्त गरे।
‘गाउँको लागि गाउँले’ भन्ने भावनालाई आत्मसात् गर्दै आयोजना हुन लागेको यस अभियानलाई सफल बनाउन पुनर्वासवासीको सहभागिता, सहयोग र एकता महत्त्वपूर्ण रहने आयोजकको भनाइ छ। आयोजकले खेलकुदप्रेमी, समाजसेवी, बुद्धिजीवी, युवा तथा विभिन्न सङ्घसंस्थालाई अभियानमा सहभागी भई सहयोग गर्न आग्रह गरेको छ।
म्याराथनका विजेतालाई नगद पुरस्कार
आयोजकले म्याराथनमा उत्कृष्ट प्रदर्शन गर्ने धावकहरूका लागि नगद पुरस्कारको व्यवस्था गरेको छ। घोषित पुरस्कार विवरणअनुसार प्रथम हुनेले १५ हजार रुपैयाँ, दोस्रो हुनेले १० हजार रुपैयाँ र तेस्रो हुनेले सात हजार रुपैयाँ प्राप्त गर्नेछन्। त्यसैगरी, चौथो हुनेलाई पाँच हजार रुपैयाँ र पाँचौँ हुनेलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
म्याराथनमार्फत स्थानीय युवालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै लागुऔषध दुर्व्यसनबाट टाढा रहन प्रेरित गर्ने, शारीरिक स्वास्थ्यप्रति सचेतना बढाउने र समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ।
आयोजकले सम्पूर्ण पुनर्वासवासीलाई अभियानमा सहभागी हुन आग्रह गर्दै ““स्वास्थ्यका लागि दौडौँ, समाजका लागि दौडौँ र हाम्रो गाउँको उज्ज्वल भविष्यका लागि दौडौँ” भन्ने सन्देश दिएको छ।
“दौडिन्छ गाउँ, बदलिन्छ गाउँ’” भन्ने नारासहित सञ्चालन हुन लागेको म्याराथनले स्थानीयस्तरमा खेलकुदको प्रवर्द्धन र लागुऔषधविरुद्धको सामाजिक अभियानलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।


