नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने

प्रकाशित:

महेन्द्रनगर । नेपाली कांग्रेसले बाढीपहिरो पीडितका लागि सहयोग गर्ने निर्णय गर्दै राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने घोषणा गरेको छ। यो निर्णय पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा गरिएको हो।

प्रवक्ता प्रकाशशरण महतका अनुसार, कांग्रेसले तत्काल ५० लाख रुपैयाँ सरकारको कोषमा जम्मा गर्ने निर्णय गरेको छ। साथै, संसदीय दलले सांसदहरूको १५ दिनको पारिश्रमिक पनि बाढीपीडितका लागि दिने निर्णय गरेको छ।

कांग्रेसका नेता र कार्यकर्ताहरूलाई बाढीपहिरोका प्रभावितहरूको उद्धार र राहतमा सक्रिय रूपमा जुट्न निर्देशन दिइएको छ। संगठन सुदृढीकरण अभियानका लागि जिल्ला–जिल्लामा खटिएका केन्द्रीय सदस्यहरूलाई राहत र उद्धार कार्यमा समन्वय गर्न पनि अनुरोध गरिएको छ।

कोजाग्रत पूर्णिमासम्मका लागि संगठन सुदृढीकरण अभियान स्थगित गरिएको छ। साथै, कांग्रेसले अवरुद्ध सडकहरूको शीघ्र मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएको छ। पार्टीले राहत र उद्धारमा सबै ध्यान केन्द्रित गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिएका छन्।

यो निर्णयले बाढीपहिरोबाट प्रभावित जनतालाई आवश्यक सहयोग पुग्ने विश्वास गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार