काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार ५४ वर्षयताकै अत्याधिक वर्षा भएको छ । विभिन्न ९ स्थानमा रहेका वर्षा मापन केन्द्रहरूमा अहिलेसम्मको रेकर्ड ब्रेक भएको छ ।
जल तथा मौसम विज्ञान विभागले काठमाडौँमा वर्षा मापन हुन थालेदेखि अहिलेसम्मकै धेरै वर्षा मापन भएको जनाएको छ ।
सरकारले विभागमार्फत् सन् १९७० देखि वर्षाको अभिलेख राख्न थालेको थियो । विभागको अभिलेखमा शनिबार काठमाडौँमा ५४ वर्ष यताकै सर्वाधिक वर्षा मापन भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
काठमाडौँमा सन् २००२ मा सबैभन्दा ठूलो धेरै वर्षा भएको थियो । तर त्यसको २२ वर्षपछि शुक्रबार र शनिबार झन् ठूलो वर्षा भएर नयाँ रेकर्ड बनेको हो ।
शनिबार बिहान ८ः४५ बजेको रेकर्डअनुसार काठमाडौँको त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको छ ।
जबकी सन् २००२ मा १७७ मिलिमिटर मात्रै वर्षा भएको थियो । विमानस्थल वर्षा मापन केन्द्रको यो तथ्यांकले अहिलेसम्मकै सर्वाधिक वर्षा भएको देखिएको मौसमविद् झाले बताए ।
‘काठमाडौँ उपत्यकामा यति ठूलो वर्षा योभन्दा पहिले कहिल्यै रेकर्ड भएको थिएन,’ मौसमविद् झा भन्छन्, ‘यो मौसमको अभिलेख राख्न थालिएयताकै सर्वाधिक वर्षा हो । यसको सुक्ष्म अध्ययन गर्न त बाँकी छ । तर मलाई लाग्छ, यहाँ २४ घण्टासम्म नियमित र यति धेरै वर्षा भएको यो नै पहिलोपटक हो ।’
उनका अनुसार बुढानीलकण्ठ वर्षा मापन केन्द्रमा सन् २००७ मा १५९ मिलिमिटर वर्षा भएको रेकर्ड थियो । शनिबार १८७.३ मिलिमिटर वर्षा भएको छ । त्यस्तै, ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकोमा शनिबार ३२३ मिलिमिटर वर्षा भएको छ ।