काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी ऐनको मस्यौदा गृह मन्त्रालयबाट पारित भई अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले चाँडै संसदमा उक्त ऐन प्रस्तुत गर्ने योजना रहेको बताए।
गृहमन्त्री लेखकका अनुसार, केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ले १ सय दिन भित्र प्रहरी ऐन संसदमा दर्ता गर्ने लक्ष्य राखेको छ। “हामीले यो काम १ सय दिन भित्र पूरा गर्नेछौं,” उनले प्रतिबद्धता व्यक्त गरे।
यससँगै निर्वाचन सम्बन्धी ९ वटा कानुन एकीकृत गरी एउटा कानुन बनाउने प्रक्रिया पनि अघि बढाइएको उनले जानकारी दिए। साथै, सशस्त्र प्रहरी र अध्यागमनसम्बन्धी विधेयकहरू तयारीको अन्तिम चरणमा रहेको बताउँदै, प्रहरी चारित्रिक प्रमाणपत्रसम्बन्धी निर्देशिका क्याबिनेटमा स्वीकृतका लागि पठाइएको उनले खुलासा गरे।
गृहमन्त्री लेखकले कानुन निर्माणलाई समयानुकूल बनाउँदै सम्बन्धित संस्थाहरूलाई कानुनी आधारमा सञ्चालन गर्ने आफ्नो प्रमुख उद्देश्य रहेको पनि स्पष्ट पारे।