प्रधानमन्त्री ओलीद्वारा प्रकाश तामाङलाई छिटो नागरिकता दिलाउन पहल

प्रकाशित:

महेन्द्रनगर । ‘हेर्ने कथा’ बाट चर्चामा आएका प्रकाश तामाङलाई चाँडो नागरिकता दिलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरेका छन्। तामाङलाई नागरिकताको अत्यावश्यकता रहेको ठहर गर्दै, प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकता प्राप्त गर्ने प्रक्रिया छिटो मिलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार, गृह सचिव अर्यालले केही दिनभित्रै तामाङलाई नागरिकता दिलाउनका लागि सहजीकरण गर्ने व्यवस्था मिलाइसकेका छन्। यसबारे तामाङलाई पनि जानकारी दिइसकिएको छ। प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त भएपछि तामाङलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा छलफल भएको जानकारी दिएका छन्।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले लेखेका छन्, “शुभ बिहानी! ‘हेर्ने कथा’ मा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत कार्यक्रम प्रस्तोता विद्या चापागाईंलाई सम्पर्क गर्न लगाएँ। उहाँ व्यस्त रहेकाले तत्काल कुरा हुन सकेन, पछि विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो। प्रकाशलाई अहिले नागरिकताको अत्यावश्यकता रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न सक्ने अवस्था आउने छ। त्यसैले राति १० बजे नै गृह सचिवलाई बोलाएर नागरिकता छिटो दिलाउन पहल गर्ने निर्णय भयो, र अब केही दिनमै नागरिकता मिल्नेछ।”

नागरिकता प्राप्त गरेपछि तामाङलाई आवश्यक सहयोग उपलब्ध गराइने आश्वासन प्रधानमन्त्रीले दिएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार