कञ्चनपुरको राम जानकी मन्दिरमा गौरा पर्वको तयारी, चहलपहल र उत्साहमा वृद्धि

प्रकाशित:

महेन्द्रनगर। भीमदत्त नगरपालिका वडा नं. ६ र ७ को सिमानामा अवस्थित श्री राम जानकी तथा सिद्धनाथ बैजनाथ मन्दिरमा गौरा पर्व २०८१ का अवसरमा चहलपहल बढ्न थालेको छ। गौरा पर्वको अवसरमा मन्दिर संरक्षण समितिले व्यवस्थापकीय तयारी पूरा गरेको छ। मन्दिर परिसरको सुधार, सरसफाइ, र अन्य व्यवस्थापनका कामहरू तीव्र गतिमा भइरहेका छन्। आगामी भाद्र १० गतेदेखि सुरू हुने पर्वलाई ध्यानमा राख्दै सबै तयारीहरू सम्पन्न भइसकेको मन्दिर संरक्षण समितिले जनाएको छ।

मन्दिरको पुनर्निर्माण तथा परिसरको व्यवस्थापनको क्रममा पुरानो राम मन्दिरको ईट्टा र ढूंगाको उचित व्यवस्थापन गरिसकिएको छ। मन्दिर परिसरलाई सम्याउने कार्यमा समाजसेवी दीपक भट्टले निशुल्क जेसिभी उपलब्ध गराएका छन्। साथै, मन्दिर परिसरमा रहेको बर्खे घाँस काट्ने कार्य पनि स्थानीय महिलाहरूको सहयोगमा सम्पन्न भएको छ। मन्दिर संरक्षण समिति सचिव गौरी प्रसाद जोशीका अनुसार यसपटकको गौरा पर्वलाई अझ व्यवस्थित र भव्य बनाउन विविध तयारीहरू गरिएका छन्।

मन्दिरमा बजाइने दाइना दमाहा बाजाको समेत मर्मत कार्य सम्पन्न भइसकेको छ। मन्दिर समिति अध्यक्ष गोविन्द प्रसाद भट्टले मर्मत गरिएको दमाहा बजाउन सुरु भएको जानकारी दिएका छन्। सुदूरपश्चिम क्षेत्रको सांस्कृतिक पहिचानको रूपमा रहेको दाइना दमाहा बाजाको विशेष महत्व रहेको छ। गौरा पर्वको अवसरमा मन्दिरमा भजन कीर्तनका कार्यक्रमहरू पनि आयोजना गरिने मन्दिर समितिले जनाएको छ।

यस मन्दिरमा प्रत्येक वर्ष गौरा मेला भर्न विभिन्न ठाउँबाट भक्तजनहरू आउँछन्। यस वर्षको गौरा पर्वका लागि पनि भक्तजनहरूको उत्साहजनक सहभागिता रहने अपेक्षा गरिएको छ। श्रावण महिनामा सम्पन्न भजन भण्डाराको आर्थिक व्यवस्थापन गोवरैया निवासी भुवन चन्दले गरेका थिए भने भाद्र १ गतेको भजन भण्डाराको आर्थिक व्यवस्थापन ऐठपुर निवासी पुष्कर चन्दले गरेका थिए। मन्दिर संरक्षण समितिका पूर्व सचिव अमित प्रसाद भट्टले मन्दिरको धार्मिक गतिविधिहरूमा स्थानीय समुदायको ठुलो भूमिका रहेको बताए।

मन्दिरको नयाँ राम जानकी मन्दिरको भव्य उद्घाटन यसै वर्ष वैशाखमा सम्पन्न भएको थियो। सो अवसरमा आयोजित वृहत धार्मिक कार्यक्रममा स्थानीय दानदाताहरूको उल्लेखनीय योगदान रहेको संरक्षण समिति सचिव जोशीले जानकारी दिए। मन्दिरका विभिन्न निर्माण कार्यहरूको लागि प्रदेश सरकार र स्थानीय सरकारबाट आवश्यक बजेटको व्यवस्था पनि गरिएको छ।

गौरा पर्वको अवसरमा मन्दिरमा विवाह मण्डपको निर्माण कार्य पनि भइरहेको छ। उपभोक्ता समिति संयोजक प्रेमवल्लभ भट्टका अनुसार युवाहरूको सक्रिय सहभागिता पनि पर्व व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्नेछ। यस वर्षको गौरा पर्व बेलुका बेलुका दाइना दमाहा बाजाको आवाजले थप रौनकपूर्ण बनेको छ। पर्वका लागि आवश्यक सम्पूर्ण तयारीहरू पूरा भइसकेको र भाद्र १० मा विधिवत रूपमा पर्वको उद्घाटन हुनेछ।

ताजा समाचार

सम्बन्धित समाचार