कञ्चनपुरमा सशस्त्र प्रहरीले झण्डै ५ करोडको अवैध सामान बरामद गर्‍यो

प्रकाशित:

महेन्द्रनगर ।कञ्चनपुरमा सशस्त्र प्रहरीले चोरी तस्करी नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ। जिल्लाको सीमावर्ती क्षेत्रमा तैनाथ सशस्त्र प्रहरीले भन्सार राजस्व चोरी, मानव तस्करी, लागुऔषध ओसारपसारजस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्दै आएको छ। पछिल्लो समय सशस्त्र प्रहरी बलले अवैध सामान बरामद गर्न र भन्सार चलान गर्नमा उल्लेख्य भूमिका खेलिरहेको छ।

सशस्त्र प्रहरी बल नेपाल, ३५ नम्बर गण शैलेश्वरीका अनुसार, आर्थिक वर्ष २०८०र८१ मा ४ करोड ७६ लाख ७९ हजार रुपैयाँ बराबरको अवैध सामान बरामद गरेर भन्सार चलान गरिएको छ। पछिल्ला चार वर्षको तुलनामा यो वर्ष सबैभन्दा बढी राजस्व संकलन भएको देखिएको छ।

तथ्यांकअनुसार, आर्थिक वर्ष २०७७/७८ मा ४ करोड १३ लाख ३२ हजार ९९० रुपैयाँ, आर्थिक वर्ष २०७८/७९ मा २ करोड ७० लाख ११ हजार ७८५ रुपैयाँ, र आर्थिक वर्ष २०७९/८० मा ३ करोड २३ लाख १५ हजार ५७७ रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको थियो।

सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्रबहादुर चन्दका अनुसार, भन्सार चोरी तस्करीविरुद्ध शून्य सहनशीलताको नीति अपनाइएको छ। गत आर्थिक वर्षमा चोरी तस्करीमा संलग्न एक टिपर, एक बोलेरो र ८० मोटरसाइकलसहित विभिन्न अवैध सामान बरामद गरिएको छ। साथै, सशस्त्र प्रहरीले लागुऔषध ओसारपसारमा संलग्न २१ जनालाई र मानव तस्करीमा संलग्न २० महिला र १७ पुरुष गरी ३७ जनालाई पक्राउ गरी नेपाल प्रहरीलाई जिम्मा लगाएको छ।

सशस्त्र प्रहरीको यो सक्रियता कञ्चनपुरमा गैरकानुनी गतिविधि नियन्त्रण र भन्सार राजस्व संकलनमा महत्वपूर्ण योगदान पुर्‍याएको देखिन्छ।

ताजा समाचार

सम्बन्धित समाचार