महेन्द्रनगर । कञ्चनपुरमा विपिन जोशीको रिहाईका लागि हस्ताक्षर संकलन अभियान थालिएको छ । हमास समुहको कब्जामा रहेका भीमदत्त–३ कञ्चनपुरका विपिन जोशीको रिहाईका लागि अनेरास्ववियु कञ्चनपुरले हस्ताक्षर संकलन सुरु गरेको हो ।
अनेरास्ववियु कञ्चनपुरले १० महिनादेखि सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायका विद्यार्थी हमास समुहको नियन्त्रणमा रहदासमेत सरकार प्रभावकारी पहल गर्न नसक्दा अझै नियन्त्रणमा भएकाले दवाव सृजना गर्न हस्ताक्षर संकलन अभियान शुरु गरिएको जनाएको छ ।
अनेरास्ववियू कञ्चनपुरका अध्यक्ष अमर सिह धामी, उपाध्यक्ष धर्मराज जोशी लगायतका विद्यार्थी नेताहरुले हस्ताक्षर संकरलन अभियान थालेका छन् । संकलित हस्ताक्षर केहि दिनमा सरकारलाई बुझाईने अनेरास्ववियू कञ्चनपुरले जनाएको छ ।
सुदूरपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पस महेन्द्रनगरको मुल गेटमै डेस्क राखेर हस्ताक्षर संकलन अभियानको थालनी गरिएको छ । लगतै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत संकलित हस्ताक्षर सहितको ज्ञापन पत्र सरकारलाई बुझाउने कार्यक्रम रहेको अध्यक्ष धामीले बताए ।