स्वास्थ्य मन्त्री पौडेलले सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने घोषणा, कोशीबाट सुरु हुने

प्रकाशित:

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अंग प्रत्यारोपणका उपकेन्द्र खोल्ने योजना सार्वजनिक गरेका छन्। मन्त्री पौडेलले यो घोषणा विश्व अंगदान दिवसका अवसरमा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा अंगदान गर्ने व्यक्तिहरुलाई सम्मान गर्दै गरेका हुन्।

मन्त्री पौडेलले प्रत्येक प्रदेशमा यस केन्द्रको शाखाको रूपमा उपकेन्द्र खोलिने जानकारी दिए। यसका अनुसार, पहिलो चरणमा कोशी प्रदेशमा यो काम सुरु गरिनेछ। उनले भने, “भक्तपुरको केन्द्रले देशभरका आवश्यकताहरू पूरा गर्न नसक्ने भएकाले हामीले सातै प्रदेशमा अंग प्रत्यारोपण उपकेन्द्र खोल्ने योजना बनाएका छौं।”

वर्तमान केन्द्रका सीमित जनशक्ति, पूर्वाधार, र श्रोतका कारण चाहेजस्तो सेवा दिन नसकिएको स्वीकार गर्दै मन्त्री पौडेलले जनशक्ति र श्रोतलाई बढी सक्रिय बनाउन प्रतिबद्धता जनाए। उनले भक्तपुरस्थित केन्द्र साँघुरो भएकोले सूर्यविनायकमा स्थानान्तरणका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजाने जानकारी दिए।

मन्त्री पौडेलले अंगदानलाई जीवनदानको रूपमा मूल्यांकन गर्दै यसलाई प्रोत्साहित गर्न आवश्यक रहेको बताएका छन्। उनले अंगदान गर्नेहरूको सम्मान गर्दै आफू पनि अंगदान गर्ने निर्णय गरेका छन्। मन्त्री पौडेलले अस्पताललाई उपकरण र जनशक्ति थप्ने विषयमा पहल गर्ने पनि प्रतिबद्धता जनाएका छन्।

ताजा समाचार

सम्बन्धित समाचार