“नेपाल र भारत भिड्दै उपाधिका लागि: फाइनल यात्रामा यस्तो छ तयारी”

प्रकाशित:

काठमाडौं । घरेलु कोर्टमा भइरहेको काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल आज भारतसँग भिड्दैछ ।
फाइनल खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित कभर्डहलमा सुरु हुनेछ । त्यसअघि इरान र श्रीलंकाबीच दिउँसो २ बजे तेस्रो स्थानको लागि प्रतिस्पर्धा हुनेछ ।प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीचको फाइनल खेल हेर्न उपस्थित हुने नेपाल भलिबल संघले जनाएको छ ।

सेमिफाइनलमा नेपालले इरानलाई तथा भारतले श्रीलंकालाई सोझो सेटमा हराएर फाइनल भेट पक्का गरेका हुन् ।यस प्रतियोगितामा नेपाल भारतबीच खेल हुन लागेको यो दोस्रो पटक हो । लिग चरणमा नेपालले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको त्यो नै पहिलोपटक थियो ।

लिग चरणको प्रदर्शनलाई कायम राख्दै भारतलाई फेरि हराएर नेसन्स लिगको उपाधि घरमै राख्ने नेपालको लक्ष्य छ । त्यो लक्ष्यबाट नेपाल अब एक कदम मात्र मात्र टाढा छ । उता पहिलो पटक नेपालसँग पराजित भएको भारत पनि फाइनलमा त्यसको बदला लिंदै उपाधि जित्ने लक्ष्यमा छ ।लिग चरणमा नेपाल र भारतबीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । जहाँ नेपालले भारतलाई २५–१८, १२–२५, २५–१७, २५–१८, १५–१३ ले पराजित गरेको थियो ।

पछिल्लो पाँच वर्षमा नेपालले भारतसँग ५ पटक खेल्दा पहिलोपटक पराजित गरेको हो । सन् २०१९ मा काठमाडौंमै भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) को फाइनलमा नेपाल भारतसँग पाँच सेटमै खेलमा पराजित भएको थियो । त्यसअघि समूह चरणमा नेपाल सोझो सेटमा पराजित भएको थियो ।यस्तै गतवर्ष काठामाडौंमै भएको काभा वुमन्स च्याल्नेज कप र चीनको हान्जाउमा भएको १९औं एसियाडमा नेपालभ रतसाग समान ४–१ ले पराजित भएको थियो ।भारतलाई पहिलोपटक हराउने लक्ष्य पूरा गरिसकेको नेपाल अब फाइनलमा पराजित गर्दै १३औं सागको फाइनलमा व्यहोरेको हारको बदला लिने योजनामा छ ।अरुणा शाहीको कप्तानीमा रहेको नेपालले लिग चरणमा इरानविरुद्ध प्रतिस्पर्धात्मक खेल हारेपछि रणनीतिमा परिवर्तन गर्दै त्यही इरानविरुद्ध सेमिफाइनलमा सोझो सेटमा जित निकालेको थियो ।

यसबाट पनि नेपाली टोली उत्साहित छ ।नेपालको मुख्य स्पाइकर निरुता ठगुन्ना र उषा भण्डारी हुन् । उनीलाईलाई फरक तरिकाले खेलाउँदा नेपाल सफल भएको थियो ।फाइनलमा पनि दुवैले त्यही लय कायम राखे विपक्षीका लागि यी दुई खेलाडीलाई रोक्न कठिन हुनेछ ।

उनीहरुलाई मिडल ब्लकर सुमित्रा रेग्मी र अपोजिट हिटर सरस्वती चौधरीले राम्रो साथ दिइरहेका छन् । नेपाली लिबेरो सलिना श्रेष्ठले पनि उत्कृष्ट प्रदर्शन गरिरहेकी छन् ।भारतविरुद्ध नेपालले लगातार खेल्दै आएको छ भने भारतका खेलाडीहरु नेपालमा आएर एनभीए कपदेखि विभिन्न प्रतियोगिताहरु समेत खेलेका छन् । त्यसैले भारतीय खेलाडीविरुद्ध नेपाल जानकार छ ।

दुवै टोलीलाई एक अर्काको बलियो र कमजोरीबारे थाहा छ ।नेपालका मुख्य प्रशिक्षक जगदिश भट्टले भारतको स्पाइक र ब्लक नेपालभन्दा राम्रो रहेकोले त्यसलाई रोक्न सके खेल जित्न नेपाललाई सहज हुने बताएका थिए । ‘भारतको स्पाइक र ब्लक मात्र हाम्रोभन्दा राम्रो छ ।

हामीले डिफेन्स र सर्भिसमा राम्रो गर्न सक्यौं भने भारतलाई पनि हराउँछौं,’ भट्टले इरानलाई सेमिफाइनलमा हराएपछि भनेका थिए ।भारतका मिडल ब्लकर सूर्या, आउटसाइड हिटरद्वय अनुश्री, सालिनी तथा अपोजिट हिटर राधा मुख्य खेलाडीका रुपमा छन् ।कप्तान अरुणा शाहीले भारतविरुद्ध खेल्दा छुट्टै उत्साह आउने बताएकी छन् । ‘अरू टिमसँग भन्दा भारतसँग खेल्न हाम्रो टिम बढी नै एक्साइटेड हुन्छ ।

यी दुई टिमबीचको प्रतिस्पर्धाले गर्दा पनि राम्रो खेल्नुपर्छ भन्ने मानसिकता हुन्छ,’ उनले भनिन् ।नेपालका प्रशिक्षक र कप्तान दुवैले फाइनलमा अझ राम्रो प्रदर्शन गरेर उपाधि जित्ने बताएका छन् ।

नेपाल र भारतको फाइनल यात्रा
नेपाल र भारत फाइनल पुग्दा अहिलेसम्म दुवैले समान ५ खेल खेलेका छन् । जसमा दुवैले ४ खेल जित्दा १ खेलमा पराजित भएका छन् । नेपाल लिग चरणमा इरानसँग पराजित भएको थियो भने भारतलाई लिगमा नेपालले हराएको थियो ।
यस्तै पाँच खेलमा १४ सेट जित्दा ५ सेट गुमाएको छ । उता भारतले पनि १४ सेट नै जित्दा ४ सेट गुमाएको छ ।

नेपालको नतिजा

श्रीलंका विरुद्ध ३–० को सेटमा विजयी (२५–१९, २५–१८, २५–१८)
भारत विरुद्ध ३–२ को सेटमा विजयी (२५–१८, १२–२५, २५–१७, २५–१८, १५–१३)
इरान विरुद्ध ३–२ सेटमा पराजित (१६–२५, २५–१६, २३–२५, २५–१५, १३–१५)
माल्दिभ्स विरुद्ध ३–० को सेटमा विजयी (२५–८, २५–१९, २५–१८)
सेमिफाइनलमा इरान विरुद्ध ३–० को सेटमा विजयी (२५–२१, २८–२६, २५–२०)

भारतको नतिजा

इरान विरुद्ध ३–१ को सेटमा विजयी (२५–२०, २५–१८, १९–२५, २५–११)
माल्दिभ्स विरुद्ध ३–० को सेटमा विजयी (२५–६, २५–११, २५–१०)
नेपाल विरुद्ध ३–२ को सेटमा पराजित (१८–२५, २५–१२, १७–२५, २५–१८, १३–१५)
श्रीलंका विरुद्ध विरुद्ध ३–० को सेटमा विजयी (२५–१३, २५–२१, २५–२०)
सेमिफाइनलमा श्रीलंका विरुद्ध ३–० को सेटमा विजयी (२५–१५, २५–१६, २५–२३)

ताजा समाचार

सम्बन्धित समाचार