धनगढी । सुदूरपश्चिम प्रदेशमा आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्री नियुक्त हुँदैछन्।
शुक्रबार मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए ।
आज नेपाली कांग्रेस र नेकपा एमालेको समर्थनमा कांग्रेसका कमलबहादुर शाहको मुख्यमन्त्रीमा दाबी पेस गर्ने तयारी गरिएको छ।
सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेशसभा सदस्य छन्। मुख्यमन्त्रीलाई बहुमत पुर्याउन २७ सांसद आवश्यक पर्छ। यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन्। यी दुई दल मात्रै मिल्दा पनि बहुमत पुग्छ।
आज साँझसम्म यी दुई दलबाहेक नागरिक उन्मुक्ति पार्टीले पनि समर्थन गर्ने जनाइएको छ।
यसअघि मुख्यमन्त्रीमा काङ्ग्रेसबाट तीन जनाको दाबी रहे पनि केन्द्रीय नेतृत्वले संसदीय दलका नेता कमलबहादुर शाह नै दोस्रो पटक मुख्यमन्त्रीमा अघि सारेका छ। अरू दुई आकाङ्क्षी प्रकाश देउवा र बहादुर सिंह थापा पनि शाहलाई मुख्यमन्त्री बनाउन सहमत भइसकेका छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले शाहलाई मुख्यमन्त्री बनाउने गरी तयारी अगाडि बढाउन निर्देशन दिइसकेका छन्।
कांग्रेसले आज ११ बजे संसदीय दलको बैठक आह्वान गरेको छ। उक्त बैठकमा यस विषयमा निर्णय हुने छ। अन्य सहभागी हुने मन्त्रीका बारेमा भने अहिले निर्णय भैसकेको छैन। तर यसपटक नयाँ अनुहार नै मन्त्री हुने बताइएको छ।