सुदूरपश्चिममा १०५ दिनपछि ढल्यो सोडारी सरकार

प्रकाशित:

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम थियो । जसका लागि दिउँसो ४ बजे प्रदेश सभा बैठक आह्वान गरिएको थियो ।

सोही बैठकमा विश्वासको मत लिने प्रस्ताव पेस नै नगरी मुख्यमन्त्री सोडारीले ‘नयाँ सरकारका लागी मार्ग प्रशस्त गरेको घोषणा’ गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् । प्रदेश सभा बैठकलगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँ समक्ष राजीनामा बुझाएका छन् ।

त्यसअघि प्रदेश सभा वैठकमा सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रस्ताव राख्न अनुमति दिएका थिए । त्यसपछि मुख्यमन्त्री सोडारीले करिव २२ मिनेट लामो मन्तव्य राखेका थिए ।

‘१०५ दिनपछि आफ्ना कुरा राखेर विश्वासको मत मेरो पक्षमा छ भन्न त आएको हुँ, यसो हेर्दा बिश्वासको मत छ जस्तो छैन,’ मन्तव्यका क्रममा सोडारीले भने,‘यसो भएको कारण पूर्व मुख्यमन्त्री कमलबहादुर शाह, पुर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावललगायत अन्य साथीहरूले भनेजस्तै मार्ग प्रशस्त गर्नु भनेकाले मार्ग प्रशस्त गर्ने घोषणा गर्दै बिदा हुन्छु ।’

त्यसपछि सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीबाट विश्वासको मतको प्रस्ताव पेस नभएकाले बैठकमा उक्त विषयको विषयसूची स्वतः निष्क्रिय भएको घोषणा गर्दै बैठक स्थगित गरेका थिए ।

ताजा समाचार

सम्बन्धित समाचार