कञ्चनपुरको दोधारा चाँदनीमा नियन्त्रणमा लिएको बाघ बर्दिया पठाइने

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ मा महिलामाथि आक्रमण गर्ने बाघ नियन्त्रणमा आएको छ ।

बुधवार साँझ उखुबारीमा बाघ देखिएपछि स्थानीयले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई खबर गरेका थिए । बिहिबार बिहानैदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई नियन्त्रणमा लिने प्रयास गरिहेकै बेला बिहिबार बिहान करिब १० बजेतिर खेतमा काम गरिरहेकी २६ वर्षीया हिरादेवी शाहको बाघको आक्रमणबाट मृत्यु भएको थियो । त्यसपछि निकुञ्जको टोलीले ४ वटा हात्ती प्रयोग गरेर बिहिबार दिनभर बाघ नियन्त्रणमा लिने प्रयास गरेपनि असफल भएको थियो ।

बिहिबार राती निकुञ्ज र सुरक्षाकर्मीको टोलीले रातभर पहरा दिएका थिए । बाघलाई अल्झाउन उखुबारीमा पाडो पनि बाँधिएको थियो । उक्त पाडो समेत बाघले लगेको थियो । शुक्रबार बिहानैदेखि पुनः हात्तीसहित प्राविधिक टोली बाघ नियन्त्रण गर्न परिचालन गरिएका हुन ।

शुक्रबार बिहान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको टोलीले बाघलाई डार्ट गरेर नियन्त्रणमा लिन सफल भएको छ । “बाघ नियन्त्रणमा लिइसकेका छौं विभागको पत्र आएको छ त्यस अनुसार बाघलाई बर्दिया पठाउने तयारी गरिरहेका छौ ।” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने –“बिहिबार बाघ नियन्त्रणमा आउन नसकेपछि बिहिबार रातभर निकुञ्जको टोली र सुरक्षाकर्मीले पहरा दिएका हुन ।

” उनले शुक्रबार बिहान मात्रै बाघ नियन्त्रणमा आउन सकेको बताउनुभयो । बिहीबार बिहान खेतमा काम गरिरहेकी महिलामाथि आक्रमण गरेर बाघले ज्यान लिएको थियो ।त्यसपछि निकुञ्जले नियन्त्रणमा लिने प्रयास सुरु गरेको हो । बाघलाई नियन्त्रणमा लिनका लागि बिहीबार ४ वटा हात्ती र प्राविधिक टोली परिचालन भएको थियो ।

शुक्रबार थप १ हात्ती प्रयोग गरेर ५ हात्तीसँगै प्राविधिक परिचालन गरेपछि बाघ नियन्त्रणमा आएको हो । उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज पठाउने तयारीभइरहेको छ । बिहीबार बिहान घरनजिकैको खेतबारीमा घाँस काटिरहेकी २६ वर्षीया हिरादेवी शाहको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

ताजा समाचार

सम्बन्धित समाचार