महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१० मा बाँसबाट उत्पादित हस्तकला सामग्री निर्माण तालिम सम्पन्न भएको छ । साउन ९ गते देखि सञ्चालनमा आएको उक्त कार्यक्रम बुधबार सम्पन्न भएको हो ।
निम्न आय भएको दलित समुहमा एक साता सम्म पर्यावरणमैत्री बाँसबाट उत्पादित हस्तकला सामग्री निर्माण तालिम सञ्चालन भएको हो ।
भीमदत्त–१० मा रहेको काठेपुल अमरज्योति दलित कृषक समुहको आयोजना तथा नेपाल समाज कल्याण संघ (एनएनएसडब्लूए) को आर्थिक एवं प्राविधिक सहयोगमा उक्त तालिम सम्पन्न भएको हो ।
उक्त तालिममा सरिक स्थानीय दलित समुदायका व्यक्तिहरु स्वरोजगार बन्नेमा आशावादी भएका छन् । उनिहरुले बाँसबाट टोकरी, र्याक, हेङगर लगायतका सामग्री बनाउने राम्रो सीप आर्जन भएको काठेपुल अमरज्योति दलित कृषक समुहकी अध्यक्ष इश्वरी सार्कीले बताइन् ।
आथिर्क सहयोगदाता एनएनएसडब्लूएकै सहयोगमा उक्त काठेपुल अमरज्योति दलित कृषक समुहले गत वर्ष बाँसको प्रयोगबाट बस्नलाई प्रयोग हुँने ‘मुडा’ बनाउँने सिकेर राम्रो आम्दानी गरेकी अध्यक्ष सार्कीले बताइन् ।
‘गत वर्ष बाँसको ‘मुडा’ बनाउन सिक्यौं, हामीले राम्रो आम्दानी गर्यौ ।’ उनले भनिन्, ‘गत वर्ष हामीले १५२३ मुडा बनाएर बिक्रि गर्यौं।’
बिहान खाना खाएर बेलुका के खाउ भन्ने अवस्थाबाट आफुहरु उम्किएको तालिममा सहभागिहरुले बताए । हातमा ‘मुडा’ बनाउँने सीप हुँदा काम नपाएर भौँतारिनु पर्ने अवस्था नआएको तथा स्वरोजगार बन्न पुगिएको समुहकी अध्यक्ष सार्की बताउछिन् ।
व्यवसायीक सीप तथा उद्यमका सवालमा आफ्नो संस्था जहिले पनि अग्रसर रहने एनएनएसडब्लूएका कार्यकारी निदेर्शक अशोक विक्रम जैरुले बताए । सीप सिकाएर मजबुद आय आर्जनमा टेवा पुर्याउनु नै आफ्नो संस्थाको मुल उद्देश्य रहेको उनले बताए ।
‘सीप जुनसुकै प्रकृतिको भएपनि अन्तत त्यसबाट आर्थिक अवस्था सुधार गर्नुनै सबैको लक्ष्य हो ।’ कार्यकारी निर्देशक जैरुले भने, ‘हामीले सिकेको सीपले हाम्रो घरवार चल्नुपर्यो, आर्थिक अवस्था मदबुद हुनुपर्यो । त्यहि अनुरुप हामी न्यून आय भएका जनता संग सीपमुलक कार्यक्रमहरुमा हातेमालो गर्दै आएका छौं ।’
सीप सिकेपछि आफु र आफ्नो समुदायलाई लाभान्वित हुनेगरि काम गर्नुपर्नेमा भीमदत्त नगरपालिका–१० का वडाध्यक्ष महेश बहादुर चन्दले जोड दिए । सीप सिकेकाहरुबाट समुदायमा बाँकि बेरोजगार रहेकाहरुले पनि उनिहरुबाट प्रेरित भई आत्म निर्भर एवं स्वरोजगार बन्नु पर्ने उनले बताए ।
दाता निकायले गाई, भैसी, बाख्रा तथा कुखुरा दिए स्थानीय वृद्धवृद्धाहरुलाई सहज हुँने थियो भन्ने सहभागिहरुको जिज्ञासामा वडाध्यक्ष चन्दले भने, ‘गाई, भैसी, बाख्रा तथा कुखुराहरु चोरले चोर्नु सक्छ, रोगले मर्न सक्छन्, तर तपाइले सिकेको सीप मर्दैन, कसैले चोरेर लैजान सक्दैन, तपाई झन निखारिनु हुन्छ, अनुभवि बन्नु हुन्छ, तसर्थ सीप तथा व्यवसायीकतामा केन्द्रीत हुनुहोस ।’
बजार माग अनुसार बाँसबाट उत्पादन हुँने सर–समानहरु उत्पादन गर्नका लागि उद्योग तिर अघि बढ्नुपर्ने वडाध्यक्ष चन्दले बताए । उद्योग सञ्चानका लागि आफुले आवश्यक पर्ने मेसिन तथा उपकरणहरुको जोहो गर्न आफुले सक्ने पहल गर्ने समेत उनले प्रतिबद्धता गरे ।