कञ्चनपुर लागु औषध प्रयोगकर्ताको अखडा बन्दैः एक वर्षमा २८४ जना पक्राउ

प्रकाशित:

महेन्द्रनगर । कञ्चनपुर लागुऔषधको प्रयोगकर्ताको अखडा बन्दै गइरहेको छ । पछिल्लो एक वर्षमा २८४ जना लागु औंषध सम्बन्धि गतिविधिमा संलग्न पक्राउ परेका छन् ।

भविष्यको उर्वर शक्ति युवाको ठुलो जमात लागु औंषधको दलदलमा फस्न थालेपछि उनीहरुको परिवारमा रुवाबासी छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ।

कानुनले अपराध मानेको लागुऔषध सेवन, विक्रीविरतण र ओसारपसार कार्यलाई निरुत्साहित गर्न प्रहरीले कडा निगरानी गर्न थालेपछि संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्।

लागु औंषधको दलदलमा पछिल्लो समय किशोरकिशोरी समेत फस्नेक्रम बढेको छ। यसले परिवारमा झन ठुलो समस्या खडा गरिदिएको छ।

लागुऔषधको कुलतबाट जोगाउन अभिभावकलाई निकै चुनौति भइरहेको छ। लुकीछिपी यस्तो कुलतमा फसेकाहरुलाई यसबाट छुट्करा दिलाउन परिवारका सदस्यलाई हम्मेहम्मे नै परेको छ। लागुऔषध सेवन एक प्रकारको रोग हो।

पछिल्लो समय कञ्चनपुर लागुऔषधको अखडा बन्न पुगेको छ । खुला सीमानाकाका कारण भारततर्फबाट लागुऔषधको ओसारपोसार ह्वात्तै बढेको छ। कतिपय अवस्थामा भारतीय नागरिकले नै लागुऔषध सीमा क्षेत्रसम्म पुगाउने गरेका छन्।

लागुऔषध खरिदका लागि कारोबारी र सेवनकर्ता सीमा क्षेत्रमै पुग्ने गरेको समेत पाइएको छ। धेरैजसो युवायुवती लागुऔषधको दुव्यर्सनमा फसेका छन्।

युवायुवती लागुऔषध दुव्यर्सनमा फसेपछि विभिन्न आपराधिक क्रियाकलापका घटनासमेत बढेका छन्। प्रहरीका अनुसार लागुऔषध दुव्यर्सनमा संलग्न १५ देखि ३५ वर्ष उमेरका धेरै छन्।

पछिल्लो समय लागुऔषध दुव्यर्सनमा फस्नेमा युवासँगै युवतीको संख्यासमेत त्यत्तिकै बढेको छ। लागुऔषध कारोबारमा महिलाको संलग्नता समेत धेरै देखिएको छ। उनीहरूमाथि सुरक्षाकर्मीले शंका नगर्ने अनुमानका आधारमा लागुऔषध कारोबारमा संलग्न हुने गरेको पाइएको छ।

आर्थिक वर्ष २०८०र८१ मा कञ्चनपुर प्रहरीले २ सय ८४ जना लागुऔषधका तस्कर, सेवनकर्तालाई समेत पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार उनीहरूको साथबाट ७ किलो ६७७ ग्राम ५९४ मिनिग्राम चरेस, ३१५ ग्राम १५ मिलिग्राम खैरोहिरोइन बरामद गरिएको छ।

ताजा समाचार

सम्बन्धित समाचार