बाढी प्रभावितका पीडा सुन्न दोधारा चाँदनीको बाढीग्रस्त क्षेत्रमा पूर्वमुख्यमन्त्री रावल

प्रकाशित:

दोधारा । असार तेस्रो साता जोगबूढा नदीमा आएको बाढीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ पटराखल्लाकी सपना सुनार विस्थापित बनिन् । बाढीले घर भताभुङ्ग बनायो । भित्रको अन्नपात, लत्ताकपडा सबै बगायो । त्यसपछि सुनारको बास स्थानीय जमुना आधारभुत विद्यालय बनेको छ।

बाढीले विस्थापित बनेको तीन साता बित्नै लाग्दा पनि उनी अहिले पनि बस्तीमा फर्किन सकेकी छैनन् । ‘जोगबूढा नदी बस्ती पस्दा मुस्किलले ज्यान जोगायौं । घर बस्नै नमिल्ने बनेको छ । होचो भूभाग हुदा अझै पानी जमेकै छ ।

बल्ल बल्ल ज्यान जोगाए पनि घर भित्रको अन्नपात, लुगाफाटो सबै बाढीले बगायो,’ सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री राजेन्द्र सिंह रावल समक्ष गुनासो गर्दै भनिन् ।

नेकपा एमालेका संसदीय दलका नेता समेत रहेका रावल नेतृतवको टोलीले बाढीले क्षति पुर्‍याएका दोधारा चाँदनी नगरपालिकाका तीन ठाँउको स्थलगत निरीक्षण गरेका छन् ।

सुदूरपश्चिमका पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर लिम्बू सहित जनप्रतिनिधिको टोली बाढी ग्रस्त क्षेत्रको निरीक्षण गर्दै पीडितको गुनासो सुनेका छन् ।

बाढी र डुबानले विस्थापित कतिपय नागरिक घर फिर्ती भईसकेपनि पटराखल्लाका २७ परिवारको बास विद्यालय बनेको छ् । जमुना आधारभुत विद्यालयको कोठामा बाढी विस्थापितले रात बिताइरहेका छन् ।

जमुना आधारभुत विद्यालयमा पटराखल्लाका वृद्धवृद्धा, गर्भवती, सुत्केरी तथा बालबालिका सहित एक सय ५ जना बाढी पीडितले आश्रय लिएर बसेको दोधारा चाँदनी–३ अध्यक्ष हरिसिंह धनाडीले बताए ।

विद्यालयमा पठनपाठन सुरु भइसकेकाले आश्रय लिएर बस्न समस्या भएको स्थानीय मंगल सुनारले बताए । ‘सुरक्षित आवासको व्यवस्था गरिदिनु पर्‍यो । अहिले विद्यालयमा बसिरहेका छौं ।

हल्का वर्षा हुदा पनि बस्ती डुबानमा पर्छ,’ उनले भने, ‘जोगबूढा नदीमा पक्की तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ ।’ दोधारा चाँदनी नगरपालिका नगर प्रमुख किशोर लिम्बुका अनुसार पटरा खल्लाका बाढी विस्थापितको अस्थायी बसोबासको व्यवस्थापन गरिदैछ ।

बर्षात् नसकिञ्जेल सम्म बस्ती नजिकै उच्च भूभागमा त्रिपाल टाँगेर बस्ने प्रबन्ध मिलाइने उनले बताए । पटराखल्ला बस्तीका स्थानीयले झेल्दै आएको बाढी र डुबानको समस्या समाधानका लागि जोगबूढामा पक्की तटबन्ध निर्माणको लागि पहल गर्ने पूर्व मुख्यमन्त्री रावलले बताए ।

बाढी विस्थापितको गुनासो सुनेपछि रावलले विपद् व्यवस्थापन प्राधिकरणका सीइओ अनिल पोखरेल संग टेलिफोन सम्पर्क गरेर पक्की तटबन्ध निर्माणका लागि आग्रह गरेका छन् ।

‘पक्की तटबन्ध निर्माणका लागि उहाँ सकरात्मक हुनुहुन्छ् । बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घचघचाउछौं,’ रावलले भने, ‘पीडामा तपाईहरुको साथमा छौं। राहतको लागि पहल गर्छौ ।’ दोधारा चाँदनी–१० को अठार नम्वर पिल्लर बस्ती जोगबूढा नदीको उच्च जोखिममा छ ।

तीव्र कटान गरिरहेको जोगबूढा नदीले यहाँका ७ परिवार विस्थापितको जोखिममा छन् । बिना बर्दिका सैनिकझैं सीमामा नेपाली भूमि जोगाइरहेका जोगबूढा पारीको १८ नम्बर बस्ती जोड्ने झोलुङ्गे पुलसम्म बाढी आएको थियो । जोगबूढा नदीको कटान रोक्न नगरपालिकाले अहिले अस्थायी तटबन्ध निर्माण गरिरहेको छ ।

जोगबूढामा पक्की तटबन्ध निर्माण नहुँदा दोधारा चाँदनी नगरपालिका–८ को सुन्दरनगर बस्तीमा नदी पसेपछि स्थानीय प्रभावित बनेका थिए । खेतमा माटो भरिएर बगरमा परिणत भएको छ ।

ताजा समाचार

सम्बन्धित समाचार