महेन्द्रनगर । कञ्चनपुरको उत्तरी चुरे क्षेत्र भएर बग्ने गहताडी खोलामा आएको बाढीले ब्रम्हदेव बजारसहित आसपासका गाउँबस्ती डुबानमा परेका छन् ।
गएरातिको भारी वर्षाका कारण गहताडी खोलाको सतह बढेर बस्तीमा पसेको भीमदत्त नगरपालिका(९ का वडा सदस्य नारायण सिंह महताले बताए ।
ब्रम्हदेव सीमावर्ती बजारमा ३ सय पसल डुबानमा परेका उनको भनाइ छ । ब्रम्हदेव र खल्लामछेट्टीको बीच भएर महाकालीमा मिसिने गहताडी खोला एक्कासी उर्लिएपछि बस्ती डुबानमा पर्नुको साथै खेतीयोग्य जमिन कटान भएको छ ।
यस्तै भाँसी खोलाले भीमदत्त नगरपालिका–२ जनज्योती टोलदेखि भण्डारी टोल हुँदै निम्बुखेडासम्म तटीय क्षेत्रका स्थानीयका घर डुबानमा परेका छन् । भीमदत्त–१८ का वडाध्यक्ष रविन्द्रप्रसाद देवकोटाले उत्तरी भेग र पहाडमा परेको वर्षातले भाँसी खोलामा आएको बाढीले दर्जनौँ घर डुबानमा परेको बताए ।
भीमदत्त नगरपालिका विपद् व्यवस्थापन शाखा प्रमुख मनोज भट्टले वाढी प्रभावित क्षेत्रमा उद्धार, डुबान व्यवस्थापनका लागि एक्स्काभेटर पठाएको बताए ।