काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकबाट राजीनामा दिएका छन् ।
असार ३१ मा गृहमन्त्री नियुक्त भएपछि लेखकले शुक्रबार प्रमुख सचेतकबाट राजीनामा दिएका हुन् ।
गृहमन्त्री लेखकले कांग्रेस पार्टी सभापति तथा दलको नेता शेरबहादुर देउवासमक्ष राजीनामा बुझाएका थिए । प्रमुख सचेतका रूपमा सेवा गर्ने अवसर दिएकोमा सभापति देउवालाई गृहमन्त्री लेखकले धन्यवाद पनि दिएका छन् ।
२०७९ पुस १९ मा सभापति देउवाले संसदीय दलको विधानको धारा १३ (१) अनुसार लेखकलाई प्रमुख सचेतक मनोनीत गरेका थिए । उनले करिब १८ महिना प्रमुख सचेतकको भूमिका निर्वाह गरे ।
गृहमन्त्री लेखकले राजीनामा दिएसँगै कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्याम घिमिरे मनोनीत भइसकेका छन् । शनिबार सभापति देउवाले घिमिरेलाई प्रमुख सचेतक मनोनीत गरेका हुन्।