मोरङ । मोरङमा बोक्सी भन्दै एक जना महिलालाई कुटपिट एवं मलमूत्र खुवाएर यातना दिएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालका अनुसार पक्राउ पर्नेमा बुढीगंगा गाउँपालिका-७ की पारो माझी छन्।
उनले छिमेकी समेत रहेकी महिलालाई बिहीबार यातना दिएर अमानवीय व्यवहार गरेको पाइएको हो। घटना बिहीबार दिउँसो साढे २ बजेतिरको हो। पारोले आफूलाई झाँक्रीरतान्त्रिकको रूपमा चिनाउँछिन्। उनको घरमा पूजा लगाइएको थियो। पूजा लगाउनेक्रममा दियो हराएको निहुँमा यातना दिइएको डिएसपी दाहालले बताए।
‘पूजामा भएको दियो हराएको भन्ने रहेछ। हराएपछि उहाँले आफ्नो तन्त्रमन्त्र गर्नुभयो। त्यसपछि छिमेकी महिलाले लुकाएको भन्दै बोक्सी भन्दै यातना दिन थाल्नुभएको रहेछ,’ उनले भने, ‘यसरी मलमूत्र समेत खुवाइएको रहेछ।’ यसबारे साँझ साढे ५ बजेतिर प्रहरीलाई खबर भएको थियो। उक्त खबरपछि प्रहरीले पारोलाई पक्राउ गरेको हो। अहिले उनीमाथि जिल्ला अदालत मोरङबाट म्याद थप गर्ने तयारी भइरहेको डिएसपी दाहालले बताए।