Saturday, July 27, 2024

चिसोबाट पशु जोगाउन समस्या

प्रकाशित:

कैलाली गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

चिसोका कारण पशु तथा जनावरमा ज्वरो आउने, काँप्ने र कतिपय अवस्थामा गाईवस्तुको मृत्युसमेत हुने गरेको किसानको गुनासो छ । “एकातिर घाम लागेको छैन, अर्कोतर्फ शीतलहरले पशुलाई जोगाउन कठिन भएको छ”, किसान पर्शु धामीको भनाइ छ, “एक महिनादेखि भैँसीलाई गोठबाट बाहिर निकाल्न पाइएको छैन । भैँसीले चार लिटर दूध दिन्थ्यो, घटेर दुई लिटर भएको छ ।”

घाम नलाग्नुका साथै शीतलहरका कारण पशुलाई चरनको समेत समस्या भएको छ । पशुलाई गोठ बाहिर बाध्न, चराउन लैजान पनि कठिन भएको किसानको गुनासो छ । जानकी गाउँपालिकाका किसान रमेश विकका दुई बाख्रा चिसोले मरेका छन् । “बाख्रालाई चिसो लागेपछि जोगाउन सकिएन, चिसोले तीन दिनसम्म आगो बालेर आगोको छेउमा बाधेर राख्यौँ, औषधि पनि खुवायौँ”, उनले भने, “तर पनि बचाउन सकिएन । जाडो सिजनमा बाख्रालाई आहाराको समेत समस्या हुने गर्छ ।”

उनका अन्य बाख्रा पनि घाँस तथा पानी राम्ररी नखाएर दुब्लाएका छन् । चिसो बढ्दै गएपछि पशुलाई आहारा व्यवस्थापन र न्यायो पार्न कठिनाइ भएको केमन व्यावसायिक गाई फार्मका सञ्चालक किसान चक्र बटालाले बताए ।

किसान बटालाका अनुसार चिसोमा कामदारलाई पनि गाह्रो हुने, पशुमा स्वास्थ्य समस्या देखिने, मर्नेलगायतका समस्या हुने गरेका छन् । “चिसोले एउटा बाख्रा बिरामी भएर म¥यो”, उनले भने, “घाम नलागेका कारण गोठ सरसफाइमा समेत समस्या भइरहेको छ ।” मोहन्याल भैँसी फार्मका सञ्चालक दुर्गाप्रसाद जैसीले पनि चिसोले गर्दा दूध उत्पादनमा कमी भएको र पशुलाई आहारा उत्पादनमा समेत समस्या भइरहेको बताए ।

टीकापुर गौशालामा समेत चिसोले पशु जोगाउन समस्या भएको छ । सयौँ पशुचौपाया रहेको गौशालामा गोठ अभावमा समेत समस्या भएको छ । चिसोबाट पशु जोगाउन ठाउँठाउँमा आगो ताप्ने व्यवस्था मिलाएको र टहरा निर्माण कार्य सुरु गरेको सामुदायिक पशु चौपाया तथा प्रवद्र्धन समितिका अध्यक्ष लोकबहादुर बुढा क्षेत्रीले बताए ।

 

ताजा समाचार

सम्बन्धित समाचार