Saturday, July 27, 2024

अध्यागमनका कर्मचारीलाई बिचौलियाले बुझाउँछन् दैनिक करोड रूपैयाँ

प्रकाशित:

काठमाडौं । नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा बुधबार विमानस्थलस्थित अध्यागमन विमागकै कमर्चारी पक्राउ परे ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विभागका अधिकृत नरवीर खड्कालाई पक्राउ गरेको थियो । उनीबाहेक प्रहरीले नेपाल एयरलाइन्सका अधिकृत होम पोखरेल र अरविन यादवलाईसमेत पक्राउ गरेको छ ।

पक्राउ परेकाहरुलाई प्रहरीले बुधबार सार्वजनिक गरिसकेको छ । प्रहरीको अनुसन्धानले अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएकाहरूलाई भिजिट भिसामा खाडी मुलुक पठाउने गरेको खुलाएको हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पछिल्लो समय नक्कली कागजातका आधारमा भिजिट भिसामा विदेश जानेमाथि निगरानी बढाएको छ । यसअघि प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले अनुसन्धान गर्ने गरेको थियो ।

तर असोजदेखि भने ब्यूरोको टोलीलाई हटाएर अपराध अनुसन्धान कार्यालयको टोलीले गर्न थालेको हो । एक महिनाको अवधिमा प्रहरीले ट्राभल, कन्सल्टेन्सी र म्यानपावरका सञ्चालकहरू धमाधम पक्राउ गर्न थालेका छन् । हालसम्म पक्राउ पर्नेको सख्या ३२ पुगेको छ । त्यसरी पक्राउ पर्नेमा दुईजना प्रहरी जवानसमेत छन् ।

अध्यागमनका कर्मचारीलाई दैनिक एक करोड रुपैयाँ घुस

नक्कली कागजातका आधारमा भिजिट भिसामा जानेहरूबाट अध्यागमन विभागका कर्मचारीले घुमाउरो बाटोबाट रकम लिने गरेको खुलेको छ । पक्राउ परेका अधिकृत खड्कामाथि केन्द्रित गरेको अनुसन्धान थप अन्य कर्मचारीसम्मै पुग्ने आशंका गरिएको छ ।

कार्यालयले नक्कली भिजिट भिसाबारे अनुसन्धान गर्न डीएसपी गोविन्द पन्थीको नेतृत्वमा टोली खटाएको छ । उक्त टोलीले अध्यागमनका कर्मचारीदेखि एयरलाइन्सका कर्मचारीसमेत पक्राउ गर्न सफल भएको हो ।

अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार, अध्यागमन विभागका कर्मचारीले यात्रुको सहजीकरण गर्ने भन्दै आन्तरिक समिति बनाएर घुस लिने गरेको खुलेको छ ।

अनुसन्धानमा खटिएका ती अधिकारीले भने, “अध्यागमनका कर्मचारीले नक्कली कागजातका आधारमा विदेश जानेहरुबाट प्रतिव्यक्ति दैनिक ४० देखि ५५ हजार रुपैयाँ लिने गरेको देखिन्छ । त्यसका लागि उनीहरुको छुट्टै समिति बनेको देखिन्छ ।”

प्रहरीका अनुसार, बिचौलियाहरुले नक्कली भिजिट भिसामा जानेहरुबाट कागजात र अध्यागमको सेटिङका लागि रकम माग गर्ने र उक्त रकम बिचौलियामार्फत् अध्यागमनका कर्मचारीसम्म पुग्ने गरेको हो ।

प्रहरीको अनुसन्धानले नक्कली कागजातका आधारमा दैनिक दुई सय ५० जना भन्दा बढी नेपाली भिजिट भिसामा खाडी मुलुक जाने गरेको खुलाएको छ । त्यसरी जानेहरुबाट अध्यागमनका कर्मचारीले प्रतिव्यक्ति ४० देखि ५५ हजार रुपैयाँ उठाउने गरेका हुन् । त्यो भनेको दैनिक एक करोडभन्दा बढी हुन आउँछ ।

प्रहरीको अनुसन्धानबाट अध्यागमनका कर्मचारीले पहिलो पटक अवैध तरिकाले भिजिट भिसामा जानेहरुको हकमा ५५ हजार र फर्किएर दोस्रो पटक जानेहरुको हकमा ४० हजार लिने गरेको खुलेको हो ।पक्राउ परेका अध्यागमनका अधिकृत खड्काले रकम सबै कर्मचारीले बाँडफाँड गरेरै लिने गरेको बयान प्रहरीलाई दिएको एक अनुसन्धान अधिकृतले बाह्रखरीसँगको अनौपचारिक कुराकानीका क्रममा बताए ।

उनले प्रहरीसँगको बयानमा भनेका छन्, “म मात्रै होइन । सबै कर्मचारीले यसरी नै उठाएर बाँड्ने गर्थे । त्यही लोभमा परेर म पैसा लिन आएको हो । मेरो दिन बिग्रेको बेला पक्राउ परेँ ।”अवैध तरिकाले भिजिट भिसामा पठाउने गिरोहले रकम अध्यागमनका कर्मचारीलाई बुझाउने गर्थे । प्रहरीका अनुसार, भिजिट भिसामा जानेहरूको लिस्ट बिचौलियाहरूले अध्यागमन विभागका कर्मचारीहरूलाई पहिला नै रकम बुझाउने गर्छन् ।

त्यही लिस्टका आधारमा ड्युटीमा रहेका कर्मचारीले नामको आधारमा कागजपत्र नहेरी पठाउने गरेको खुलेको हो । प्रहरीले पक्राउ गरेको अध्यागमनका अधिकृतसहित नेपाल एयरलाइन्सका कर्मचारीको सम्पत्ति शुद्धीकरणका लागिसमेत सम्बन्धित कार्यालयलाई पत्राचार गर्ने तयारी गरेको हो । अध्यागमनका अधिकृत खड्का नौ महिनाअघिदेखि विमानस्थलमा कार्यरत थिए ।

 

ताजा समाचार

सम्बन्धित समाचार