सल्यान । भेरी नदीमा एक बेवारिसे अवस्थामा मान्छेको लास भेटिएको छ । जिल्लाको कुमाख गाउँपालिका १ सानमुढा नजिकै पर्ने भेरी नदीमा दुई खुट्टा तैरिएको र बाँकी शरिर ढुंगाको खोंचमा रहेको अवस्थामा बेवारिसे लास भेटिएको हो ।
खुट्टाबाहेक सबै भाग नदीको किनार नजिकै रहेको ढुंगाको खोंचमा परेको र पानीले डुबेको अवस्थामा भएकाले पुरुष या महिला खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए ।
स्थानीयले प्रहरीलाई जानकारी गराएपछि अहिले घटनास्थलतर्फ जिल्ला प्रहरी कार्यालयको टोली गइरहेको उनले जानकारी गराए ।
घटनास्थल पुगेको इप्रका रागेचौरका प्रसनि पूर्ण रानाले भेरी नदीले माथितिरबाट केही दिन अघि बगाएर ल्याएको लास हुनसक्ने बताए । जिल्ला प्रहरी कार्यालयको टोली आउन थालेकाले आफूहरू पर्खेर बसेको उनले जानकारी गराए ।