Saturday, July 27, 2024

ढल्नै आँटेका घर हेर्दै सडकमा बास

प्रकाशित:

जाजरकोट । जाजरकोट भूकम्प प्रभावित भन्छन्ः घरको सामान निकाल्न सकिँदैन, बस्नलाई त्रिपाल पनि छैन
जाजरकोटको भेरी नगरपालिका–३ की शितला विक काखमा नातिनी च्यापेर सडकको छेउमा बस्ने बन्दोवस्त गर्दैछिन्।उनका छोरा र बुहारी ओढ्ने, ओछ्याउनेको व्यवस्थापन गर्न तल्लीन छन्।शनिबारको रात शितला, उनका छोराबुहारी र तीन जना नातिनीको सदरमुकामस्थित तल्लो थाप्ले नजिकको सडकको पूर्वी किनारामा बित्नेछ।

वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेशवान) द्वारा जारी सूचना ।।

शनिबार पछिका कति रात सडक छेउमै बिताउनुपर्छ भन्ने यकिन पनि छैन।शितलाको दुई तले कच्ची घर भुइँचालोले आंशिक रूपमा क्षति गरेको छ। बस्न मिल्ने छैन।‘ढल्नै लागेको घरमा बस्न सकिने कुरा भएन, गएको रात भाग्यले बाँचेका छौं,’ उनले भनिन्, ‘अब पनि अर्को व्यवस्था नहुञ्जेल बाहिरै बस्ने होला, पहिले त ज्यान जोगाउनु छ।’

उनीहरूका परिवार शुक्रबार भुइँचालो जानेबित्तिकै बाहिर निस्किएका थिए।बाहिर निस्किसकेपछि मात्र उनीहरूले घरमा बस्न नमिल्नेगरी क्षति भएको थाहा पाएका हुन्। शनिबार बिहानदेखि उनीहरूले घर नजिकको भिरालो बारीमा खाना पकाएर खाइरहेका छन्।गणेश खत्री भत्किएको घरको अगाडिपट्टिको सडक छेउमा सुत्नका लागि पार्क गरिएको मोटरसाइकल हटाइदिन आग्रह गर्दैछन्।त्रिपाल पाएका छैनन्। भएको सामान जति घरमै पुरिएको छ।वल्लोपल्लो छिमेकीबाट ओढ्ने र ओछ्याउने मागेर शनिबारको रात गणेशले बिताउँदैछन्।शुक्रबार राति भुइँचालो जाँदा उनको घरको आधा भाग पूर्ण रूपमा क्षति भएको छ।

उनी सुतेको कोठा भने भत्किएन।‘मेरो कोठामा भएको सामान निकाल्न जान पनि डर छ, मान्छे चढ्नेबित्तिकै भत्किएला जस्तोगरी चर्किएको छ,’ गणेशले भने, ‘तत्काल त कतैबाट जुगाड गरेर रात बिताउने मेसो मिलाउँदैछु।’भेरी नगरपालिका–३ कै जगत विकको सात जनाको परिवार पनि शनिबार सडक छेउमै रात बिताउँदैछन्।सोही ठाउँका सुशिला खत्रीको छ जनाको परिवारले पनि सडक छेउमै शनिबारको रात बिताउने भएका छन्।

उनीहरूजस्तै जाजरकोट र रूकुम पश्चिमका भूकम्प प्रभावितहरू आफ्ना चर्किएका घरहरूभन्दा बाहिर सडक छेउ र खुला चउरमा रात बिताउने छन्।पराकम्प आउन सक्ने सम्भावना भएकाले जाजरकोट र रूकुम पश्चिम प्रशासनले प्रभावितहरूलाई चर्किएका घरभित्र नबस्न भनेको छ।

भूकम्पबाट अहिलेसम्म कति परिवार प्रभावित छन् भन्ने यकिन तथ्याङ्क छैन। उद्धारको क्रम भने लगभग सकिएको छ।जिल्ला अस्पतालमा उद्धार गरी घाइतेलाई ल्याउने क्रम रोकिएको अस्पतालका सूचना अधिकारी कृष्णबहादुर खत्रीले बताए।शुक्रबार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भुइँचालोबाट रूकुम पश्चिम र जाजरकोट धेरै प्रभावित भएका छन्।जाजरकोट जिल्ला अस्पतालका सूचना अधिकारी खत्रीका अनुसार जाजरकोटमा मात्र हालसम्म १०५ जनाको मृत्यु भएको छ।

तीमध्ये ४२ जनाको जिल्ला अस्पतालमा मृत घोषित गरिएको उनले बताए। मृत्यु भएकाहरूको पहिचानसहितको विवरण भने प्रशासनले दिइसकेको छैन।मृत्यु हुनेहरूमा जिल्लाका कुशे गाउँपालिकाका ८ जना, नलगाड नगरपालिकाका ५२ जना, छेडागाड नगरपालिकाका एक जना र जुनीचाँदे गाउँपालिकाका एक जना छन्।जुनीचाँदे गाउँपालिकाका मृतकको पुष्टि भने नभएको उनले बताए।

अस्पतालमा मृत्यु भएका ४२ जनामध्ये ४१ शवको पोष्टमर्टम भइसकेको छ। ३४ वटा शव आफन्तले बुझिसकेका छन्।उद्धार गरी सदरमुकाम ल्याइएका घाइतेमध्ये २५ जनालाई बाहिर रिफर गरिएको खत्रीले जानकारी दिए। तीमध्ये २४ जनालाई सुर्खेत पठाइएको छ भने एक जनालाई नेपालगञ्ज पठाइएको छ।हाल जिल्ला अस्पतालमा तीन जनाको उपचार भइरहेको छ।

ताजा समाचार

सम्बन्धित समाचार