Sunday, June 23, 2024

दार्चुलाको तिङ्करमा बीओपी स्थापनाः स्थानियमा हर्ष

प्रकाशित:

दार्चुला । दार्चुलाको तिङ्करमा सशस्त्र प्रहरी बलको नेपाल बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । शुक्रवार दार्चुलाको व्याँस गाउँपालिका वडा १ छयाँलेकमा बीओपी स्थापना भएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण दार्चुलाका अनुसार चीन सीमा नजिक तिङ्करमा बीओपी स्थापना गर्न भारतको बाटो हुँदै प्रहरी नायब महानिरीक्षक वंशीराज दाहाल (एआईजी) को टोली तिङ्कर पुगेको थियो ।

तिङ्करमा बीओपी स्थापना भएसँगै जिल्लामा बीओपीको सङ्ख्या पाँच वटा पुगेको छ । दार्चुलाको दुम्लिङ, दत्तु, जोलजीवी सुन्सेरा र लालीमा बीओपीहरु स्थापना भएका छन् ।

तिङ्करमा बीओपी स्थापना भएसँगै सीमा क्षेत्रको सुरक्षा प्रभावकारी हुने र चोरीतस्करी नियन्त्रण हुने सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रेमसिंह धामीले बताए। तिङ्करमा सशस्त्र प्रहरी निरीक्षक इन्स्पेक्टर जनक बहादुर पौडेलको नेतृत्वमा २० जनाको टोली बस्ने भएको छ ।

व्यास गाउँपालिकाको वडा नम्बर २ को माल र मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ६ बाँकुमा रहेको नेपाल–भारत जोड्ने झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको पोष्ट राखिएको छ ।

भारतसँग सीमा जोडिएका व्यासको सीतापुल, सुन्सेराको मलघट्टे, खलङ्गाको घाटबजार, दत्तु, जोलजीवी र लालीमा रहेको महाकाली नदीको झोलुङ्गे पुलमा पनि सशस्त्र प्रहरीको नियमित सुरक्षा उपस्थिति रहेको ४४ नम्बर गणका गणपति डम्बरबहादुर विष्टले जानकारी दिए ।

नेपाल–भारत जोड्ने अन्तर्राष्ट्रिय सीमाबिन्दुहरुमध्ये व्यास गाउँपालिकाको वडा नम्बर ५ तिगरम र वडा नम्बर ६ बडुगाउँको झोलुङ्गे पुलबाहेक अन्य सबै ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति रहेको छ ।

व्यास गाउँपालिकाको तिङ्कर, कौवाक्षेत्र र बडुगाउँ तथा लेकम गाउँपालिकाको रतौडामा थप बीओपी स्थापनाको काम भइरहेको छ ।

मालिकार्जुन गाउँपालिकाको जोलजीवीमा रहेको बीओपीलाई सीमा सुरक्षा गुल्म बनाइएको छ । लाली र दुम्लिङको बीओपीमा इन्स्पेक्टरको कमाण्डमा फौज परिचालन गरिएको छ ।

सुन्सेरा र दत्तुमा सईको नेतृत्वमा सशस्त्र प्रहरीको टोली रहेको छ । अतिक्रमित भूमि नजिकको छाङरु गाउँको गागामा ५० नम्बर गुल्मको नेतृत्व डीएसपीले गरिरहेका छन् ।

सीमाक्षेत्रमा सशस्त्र प्रहरीले सुरक्षा दिनथालेपछि अहिले सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु खुशी भएका छन ्।

ताजा समाचार

सम्बन्धित समाचार