महेन्द्रनगर । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेपछि परिचय खुल्ने सरकारी कागजात आवश्यक गरिएको छ ।

नेपाल र भारतको सीमा पार गर्नका लागि नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरिएको हो ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले तेस्रो देशका नागरिकको प्रवेश गर्न सक्ने भएकाले सीमामा कडाइ गरिएको बताए ।

उनले भने, ‘भारत जानलाई नेपाली हो भन्ने आधार खोज्दैछन्। तर, हामीसँग अधिकारीक कुनै जानकारी छैन ।’
नेपालबाट चिनियाँ नागरिकसमेत भारत प्रवेश गर्दै आएकाले कडाइ गरिएको बुझिएको छ । तर, नेपालसँग भारतीय सुरक्षा बलले कुनै समन्वय गरेको छैन ।
स्थानीय प्रशासनलाई समेत आधिकारिक रुपमा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले गरेको कडाइका विषयमा जानकारी छैन ।
सीमा क्षेत्रमा नागरिकता अथार्त परिचयपत्र नभएकाहरुले पनि दुःख पाउन थालेका छन् । नेपाल–भारत सीमा क्षेत्रमा भारतीय सुरक्षा बलले एकतर्फी कडाइ गरेको हो ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारतीय सीमा क्षेत्रका बजारमा किनमेलका लागि जानसमेत नागरिकता अनिवार्य गरेको छ ।
गौरीफन्टा सीमा क्षेत्रसँग जोडिएको वनगाउँ जानका लागि समेत नेपाली भएको पहिचान खुल्ने परिचयपत्र भएकाहरुलाई मात्र प्रवेश गर्न दिने गरेको छ ।
सीमा क्षेत्रमा नेपाली भएको परिचय खुल्ने नागरिकता, सवारी चालक अनुमति पत्र, प्यानकार्ड नभएकालाई भारत प्रवेशमा रोक लगाइएको छ ।
सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकाबाट नेपालीहरु भारत जाने र नेपाल फर्किने गर्दै आएका छन् ।