महेन्द्रनगर । भीमदत्त नगरपालिका–४ बसपार्कबाट भारतबाट भन्सार छली भित्र्याइएका अवैध सामान प्रहरीले बरामद गरेको छ ।

अवैध रुपमा भन्सार छली गरी ल्याइएका ९५ थान लेदरका बेल्ट बरामद गरिएको प्रहरीले जनाएको छ । त्यसको बजार मुल्य ३ लाख ८० हजार रुपैयाँ रहेको छ ।

यस्तै २ लाख २५ हजार रुपैयाँ बराबरको हुक्का फ्लेवर (तम्बाखु ७५० प्याकेट) पनि बरामद गरिएको छ । प्रहरीका अनुसार जम्मा ६ लाख ५ हजार रुपैयाँ बराबरका ती समान बेवारिसे अवस्थामा फेला परेका हुन् ।

ती सामानहरु आवश्यक कारबाहीका लागि गड्डाचौकीस्थित भन्सार कार्यालयमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए ।